logo
२०८१ बैशाख ७ शुक्रवार



देशैभर जाडो, विद्युत् माग उच्च

मुख्य समाचार |


देशैभर जाडो, विद्युत् माग उच्च


गोपालचन्द्र सुवेदी

काठमाडौँ, पुस १३ गते । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् ।
शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर इन्डक्सनजस्ता उपकरण चलाउन चाहँदा विद्युत् माग उच्च रूपले बढेको छ । हिउँदका समयमा विगतमा तराई क्षेत्रमा कम माग हुन्थ्यो तर यो वर्ष त्यहाँको प्रवृत्ति फेरिएको छ । प्राधिकरणका अनुसार खपत तराईमा पनि खासै घटेको छैन । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार २०७५ पुस ११ गते साँझभन्दा ०७६ पुस ११ मा ११२ मेगावाट विद्युत् माग बढी भयो । जाडो लागेसँगै शुक्रबार नै सबैभन्दा धेरै देशभर १३३८ मेगावाट विद्युत् माग रेकर्ड भएको छ । यसअघि लक्ष्मीपूजाका दिन एक हजार ८९ मेगावाट रेकर्ड भएको थियो ।
प्राधिकरणमा लोड डिमान्ड औसतमा २५ प्रतिशतले बढेको छ । बढ्दो मागको हिस्सा काठमाडौँ उपत्यकाको मात्र ४० प्रतिशत छ । माग बढी हुँदा प्राधिकरणको स्थानीय स्तरका वितरण प्रणालीले थेग्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । लोड डिमान्ड बढ्दा कतिपय क्षेत्रमा, लो भोल्टेज तार चुँडिने, ट्रान्सफर्मर पड्कने समस्या बढेका कारण विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या आउने गरेको प्राधिकरणले जनाएको छ ।
शुक्रबार मात्रै राजधानीको बानेश्वर क्षेत्रमा ३० एमभीए र स्युचाटार क्षेत्रको १५ एमभीएका ट्रान्सफर्मर जल्दा प्राधिकरणले तत्काल नयाँ जडान गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुनै स्थान विशेषमा एकाएक माग उच्च हुँदा स्थानीय स्तरमा यस्ता समस्या आएका हुन् । स्थानीय वितरण प्रणालीमा आकस्मिक उच्च माग हुँदा सो क्षेत्रमै आपूर्ति नै अवरुद्ध हुन्छ, घिसिङले भन्नुभयो, जुन स्थानमा समस्या हुन्छ त्यहाँ मर्मत तथा सुधारका लागि प्राधिकरणका कर्मचारी तत्काल पुग्ने व्यवस्था गरेका छौँ र भएको पनि छ ।
समस्या आएका क्षेत्रमा मर्मतका लागि लाग्ने समय मात्र विद्युत् अवरुद्ध भएको र कहीँकतै पनि मर्मतसम्भारमा हेलचेक्य्राइँ नभएको ठोकुवा उहाँले गर्नुभयो ।
जाडो बढेसँगै विद्युत् माग बढ्दा विद्युत् नपुगेर आपूर्ति रोकिएको होइन । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार तत्काल १५ सय मेगावाटभन्दा धेरै विद्युत् आपूर्ति क्षमता प्राधिकरणसँग छ । उच्च माग (पिक डिमान्ड)अनुसार आपूर्ति गर्न वितरण प्रणाली सुधार तीव्र भइरहेको उहाँकोे भनाइ छ ।
बस्ती बढेसँगै विद्युत् क्षमता विस्तार गर्नुपर्ने हुन्छ तर यसमा स्थानीयले थप लाइनका लागि रुट नदिने घर नजिक भयो भन्दै ट्रान्सफर्मर राख्ने नदिने समस्या पनि प्राधिकरणले सामना गर्नुपरेको घिसिङको अनुभव छ । अहिले सडक निर्माणलगायतका पूर्वाधार विस्तारका कार्यले पनि कतिपय स्थानमा विद्युत् अवरोध भएको उहाँको भनाइ छ ।
सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत् खपत प्रतिव्यक्ति वार्षिक २४५ किलोवाट आवरबाट युनिटबाट करिब दोब्बर हुनेगरी ४२६ पु¥याउने लक्ष्य छ । विद्युत् आपूर्तिमा अहिले देखिएको समस्याले कुनै असर नपर्ने दाबी घिसिङको छ । देशभर भइरहेको नयाँ सबस्टेसन निर्माण, नयाँ लाइन विस्तार, ट्रान्सफर्मरको क्षमता विस्तारले मूर्त रूप पाउँदा सबै नेपालीले सहज र पर्याप्त विद्युत् पाउने अवस्था आउने दाबी घिसिङको छ । स्थानीय स्तरमा देखिएका अल्पकालीन समस्याले विद्युत् विस्तारको दीर्घकालीन लक्ष्यलाई प्रभावित गर्दैन, उहाँले भन्नुभयो, “ग्राहकलाई गुणस्तरीय सेवा दिन हामी अहोरात्र खटिएका छौँ, ढुक्क हुँदा हुन्छ ।”  

ग्यासको पनि माग बढ्यो

लक्ष्मण दर्नाल

 देशभर बढेको चिसोसँगै एलपी ग्यासको माग पनि बढेको छ । चिसोमा हिटर ताप्ने, पानी तताउने र कोठा तातो बनाउनेलगायतका गतिविधि बढेपछि ग्यासको माग बढेको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार चिसो बढेपछि १२ देखि १५ प्रतिशत माग वृद्धि भएको छ । निगमले पनि माग बढेको जनाएको छ । निगमका निर्देशक दीपक बरालले भन्नुभयो, “चिसो बढेपछि तीन हजार मेट्रिक टन ग्यासको माग बढेको छ, अझै बढ्ने सम्भावना देखेका छौँ, चिसोमा ग्यासको प्रयोग बढी हुने भएकाले माग बढेको हो ।”निगमले मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्छ तर गत महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात गरेको छ । माग बढेकाले आपूर्ति बढाइएको निगमले जनाएको छ ।
सङ्घका अध्यक्ष गोकुल भण्डारीले पनि चिसोका कारण माग बढेको र चिसो रहँदासम्म माग निश्चित छ, भन्नुभयो ।
नेपाल आयल निगमका अनुसार नेपालका ४० प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दै आएका छन् । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पछिल्लो समय ग्यास प्रयोगकर्ता बढेको बताउनुभयो । गाउँघरमा पनि ग्यास प्रयोग हुन थालेको छ ।
आर्थिक वर्ष २०७१÷७२ मा २५ लाख आठ हजार २९९ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो । २०७२÷७३ मा २१ लाख चार हजार १९२ मेट्रिक टन आयात गरिएको थियो । जुन वर्ष भारतीय नाकाबन्दी भएकाले आयात घटेको निगमको दाबी छ । ०७३÷७४ मा ३१ लाख दुई हजार ९२८ मेट्रिक टन आयात भएको थियो भने २०७४÷७५ मा ३७ लाख पाँच हजार ७० मेट्रिक टन आयात भएको छ । २०७५÷७६ मा ४० हजार मेट्रिक टन पुगेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?