logo
२०८० चैत्र १६ शुक्रवार



उच्च लेकाली क्षेत्रमा हिमपात

प्रदेश |


उच्च लेकाली क्षेत्रमा हिमपात


डोटी, मङ्सिर २७ गते ।  बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठबाहिर निकाल्नसमेत समस्या भएको छ ।”

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशमा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको अर्का स्थानीयवासी ध्वजबहादुर विष्टले जानकारी दिनुभयो । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?