राउटे बस्तीमा कूल पूजाको चटारो

पढ्नै पर्ने |
प्रदेश |
समाज |


2019-12-12-5458


सुर्खेत, मङ्सिर २६ गते । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् ।

राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्दछन् । यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्दछ । राउटे अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताउनुभयो । “भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौँ”, उहाँले भन्नुभयो, “मन्त्रीज्यूले तपाईहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौँला भन्नुभएको छ ।” हरिबहादुरसहित तीन जनाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेर सहयोग मागेका थिए ।

राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन् । “प्रति परिवार एउटा खसी–बोका चाहिने हुँदा आजै बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौँ”, अर्का अगुवा प्रकाश शाहीले भन्नुभयो, “मन्त्रीज्यूले भोको बस्नुपर्दैन भन्नुभएको छ ।”

हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन् । शुरुमा राउटे अगुवाको टोली गुराँस गाउँपालिका कार्यालय पुगेको थियो । गाउँपालिकाले बजेट नभएको बताएपछि सिधँै बस चढेर राउटे अगुवाहरु वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय आइपुगेका थिए । राउटे अगुवाले काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए । राउटे युवा प्रकाशले भन्नुभयो, “जङ्गलमा पहिलेजस्तो कन्दमूल, गुना बाँदर पाइँदैन्, त्यही भएर मासुका लागि पनि खसीकै भर पर्नुपर्छ ।” सरकारले दिने मासिक भत्ता रकमले चामल, नून, तेल र तरकारी किन्नमै खर्च हुने उहाँको भनाइ थियो ।

“सरकारले भत्ता दिएका छौँ, पुग्छ नि भन्छ, यता हामीले सबै किनेर खानुपर्छ, पहिलेजस्तो गाउँमा मागेर पाइँदैन, हामीले बनाएका कोशी, मुुधुस, आरी पनि कसैले किन्दैनन्” अगुवा हरिबहादुरले माग्दै हिँड्नुको बाध्यता यसरी सुनाउनुभयो । प्रदेश सरकारले समयमै रकम नदिए यसपालीको मस्टो पूजा पनि खुल्लो हुने होकी भन्ने चिन्ता बढेको छ । सरकारी सहयोगको पर्खाइमा रहेका राउटे अगुवालाई भोलिसम्म खसीबोका र चामल बस्तीमा पु¥याइसक्न मुखियाले आदेश दिएका छन् ।

ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । धर्म–संस्कृति, जातपात हिन्दु सम्प्रदायसँग मेल खान्छ । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले फिरन्ते वन्य जीवनमा बाँचिरहेका राउटे आधुनिक जीवनशैलीबाट टाढा रहेकाले अस्तित्व सङ्कटमा पर्न थालेको बताउनुभयो । “राउटेलाई आफ्नो संस्कार, धर्मसंस्कृति, भेषभूषा रहनसहन नै प्यारो लाग्छ, त्यही भएर स्थायी रुपमा बसोबास, पशुपालन र खेतीबालीप्रति रुची छैन्, माग्नु त उनीहरुको बाध्यता बनिसक्यो,” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?