logo
२०८१ बैशाख ८ शनिवार



सार्वजनिक शौचालय पुरेर सडक निर्माण !

समाज |


सार्वजनिक शौचालय पुरेर सडक निर्माण !


गोकर्ण दयाल

बैतडी,मङ्सिर २६ गते । बैतडी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न तत्कालीन जिल्ला विकास समितिले अढाई लाख रुपियाँ खर्च गरेर बनाएको सार्वजनिक शौचालय पुरेर मेलौली नगरपालिकाले शौचालयको छतमाथि सडक निर्माण गरेको छ ।

पाटन–पञ्चेश्वर सडक खण्डको लामालेक बजार छेउमा रहेको सार्वजनिक शौचालयमाथि मेलौली नगरपालिकाले वडा नम्बर–१, को द्वारसैनी गाउँमा सडक लैजान शौचालय पुररे सडक निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७४/२०७५ मा वडा कार्यालय र मेलौली नगरपालिकाले १९ लाख रुपियाँमा खर्च गरेर सडक निर्माण गरेको थियो । सडक निर्माण गरेको तीन आर्थिक वर्ष बितिसक्दा पनि उक्त सडकमा गाडी भने चल्न सकेका छैनन् ।

बैतडीको मेलौली नगरपालिका–१, लामेलेक बजारमा रहेको सार्वजनिक शौचालय पुरेर सडक निर्माण भएपछि लामालेक बजार वरिपरि खुला दिसा पिसाब हुन गरेको छ । मेलौली नगरपालिका–१, ३, ४, ५ र ६ नम्बर वडाका स्थानीय गाडी चढ्न लामालेक बजार पुग्ने गर्छन् ।

मेलौली नगरपालिकाले यात्रुका लागि प्रतिक्षालय बनाई दिनुपर्नेमा भएको सार्वजनिक शौचालय समेत पुरेर सडक निर्माण गरेपछि यात्रुहरु मर्कामा परेका छन् । पुरुषहरुले सडकमै खुला पिसाब गरे पनि महिलाहरुलाई भने निकै समस्या हुने गरेको छ । पिसाब रोकेर यात्रा गर्नु पर्ने बाध्यता रहेको महिला यात्रुले गुनासो गरेका छन् ।

लामालेक बजारमा यात्रूलाई प्रतिक्षालय र सार्वजनिक शौचालय नहुँदा समस्या भएको पवनदूत यातायात समितिका स्थानीय कर्णबहादुर चन्दले बताउनुभयो । चन्दले भन्नुभयो, लामो तथा छोटो दूरीका यातायातमा दैनिक एकसय भन्दा बढी यात्रु आवत–जावत गर्नुहुन्छ । शौचालय नहुँदा समस्या भईरहेको छ ।

मेलौली नगरपालिकाले वडा नम्बर–१, को द्वारसैनी गाउँमा जोड्न वडा कार्यालयको १४ लाख रुपियाँ र मेलौली नगरपालिकाबाट पाँच लाख रुपियाँ विनियोजित गरेर सडक निर्माण भएको वडा नम्बर–१, का अध्यक्ष एवं मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले जानकारी दिनुभयो ।

अध्यक्ष नेगीले भन्नुभयो, जर्कुबाट यातायात चलेपछि अहिले यो सडक सुचारु छैन । सडक निर्माण गर्दा शौचालय पुरिएकै हो । सडक निर्माण गर्ने बेला डोजर चालकले ध्यान पुर्याएन । यो विषयमा स्थानीयको पनि गुनासो आएको छ । कतैबाट रकमको जोहो गरेर शौचालय बनाउने विषयमा नगरपालिकासित कुरा भएको छ । यो वर्ष कुनै योजनाबाट कन्टेन्जेसीको रकमबाट शौचालय र यात्रु प्रतिक्षालय निर्माण गर्छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?