logo
२०७७ असोज ४ आईतवार

गौरिका र देविकालाई स्वर्ण , ७६ स्वर्णको स्पर्धा हुन बाँकी

पढ्नै पर्ने |
खेलकुद |


2019-12-08-5285


इश्वरचन्द्र झा
काठमाडौं, मङ्सिर २२ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को आठौं दिन दुई स्वर्णसहित २२ पदक प्राप्त गरेको छ । आठौं दिन गौरिका सिंहले सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली बन्ने कीर्तिमान समेत बनाउनुभयो । आठौं दिन नै सुरु भएको जुडो स्पर्धामा नेपालका लागि देविका खडकाले पहिलो स्वर्ण जित्नुभयो ।
काठमाडौं–पोखरा र जनकपुरधाममा जारी सागको तेह्रौं संस्करणको आठौं दिन नेपालले पुरुष फुटबलमा बङ्गलादेशलाई हराएर फाइनलको यात्रा समेत तय गरेको छ । नेपालको फाइनलमा यो छैठौं यात्रा हुनेछ । नेपालले बङ्गलादेशबाट सन् १९८९ को साग संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो । करीब तीन दशकपछि नेपालले बङ्गलादेशलाई हराएर उक्त स्पर्धाको बदला मात्रै लिएनन बरु सागको स्वर्णको स्पर्धाबाट समेत बाहिर पठायो ।


नेपालले फाइनलमा अब भुटानको सामना गर्नेछ । स्वर्णको लागि भुटान र नेपालबीचको खेल आगामी मङ्सिर २४ गते मंगलबार साँझ पाँच बजे दशरथ रङ्गशालामा हुनेछ । क्रिकेट, भलिबल जस्ता प्रतिष्ठित विधाको स्वर्ण पदकको होडबाट बाहिरिएको नेपालले फुटबलमा स्वर्ण पदकको होडमा उभ्याउँदा नेपाली खेल प्रशंसक उत्साहित छन् । र घरेलु मैदानको उपलब्धताले घरेलु टोलीलाई स्वर्ण जित्ने ऐतिहासिक र सुनौलो अवसर मात्रै हैन बरु डिफेन्डिङ च्याम्पियनको उपाधि जोगाउने अवसर समेत प्राप्त भएको छ ।


लिग चरणको पहिलो खेलमा ४–० को हार बेहोरेको अर्का स्पर्धी भुटानमाथि दबाब हुनेछ । यद्दपी भुटान समक्ष गुमाउनलाई केही छैन् । सागको तेह्रौं संस्करणमा हालसम्म एउटै स्वर्ण र रजत जित्न नसकेको भुटानले कम्तिमा रजत पदक जित्ने तय भइसकेको छ ।
भारत्तोलनमा अहिलेसम्मकै उत्कृष्ट नतिजा
तेह्रौं सागको भारत्तोलन विधामा नेपालले साग इतिहासको सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । भारत्तोलन विधाको खेल समाप्त भइसकेको छ । भारत्तोलन विधामा कुल २० स्पर्धा भएको थियो । नेपालले उक्त २० स्पर्धामध्ये १६ मा पदक प्राप्त गर्यो । जसमा दुइ स्वर्ण समेत सामेल छ । भारत्तोलनको सबै स्पर्धा सकिनुअघि नेपालले आइतबार एक रजत र एक कास्य प्राप्त गर्यो ।
भारत्तोलनमा भारतले सबैभन्दा बढी नौ वटा स्वर्ण पदक जित्यो । पाकिस्तानले छ स्वर्ण जित्दा नेपाल, बङ्गलादेश र श्रीलङ्काले सामान दुई दुई स्वर्ण जित्यो । भुटानले एक मात्र कास्य प्राप्त गर्न सक्यो ।
७६ स्वर्णको स्पर्धा बाँकी
तेह्रौं सागको आठौं दिनसम्म २४८ स्वर्णको नतिजा आइसकेको छ । ७६ स्वर्णको लागि आगामी दुई दिन भित्र स्पर्धा हुनेछन् । नेपालले आठौं दिन दुई स्वर्ण, दश रजत र दश कास्य जितेको छ ।नेपालका लागि गौरिका सिंहले ४०० मिटरको फ्री स्टाइलमा स्वर्ण पदक दिलाउनुभयो । त्यसैगरी, देविका खड्काले जुडोमा स्वर्ण पदक जितेर नेपाललाई ४५ औं स्वर्ण दिलाउनुभयो । हालसम्म नेपालले ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य गरी कुल १६५ पदक जितेको छ ।

भारतले हालसम्म १३२ स्वर्ण जितेको छ । ७९ रजत र ४१ कास्य गरी भारतले कुल पदक संख्या २५२ पुर्याएको छ । आठौं दिन भारतले २२ स्वर्ण, छ रजत र पाँच कास्य जित्यो ।
तेस्रो स्थानको श्रीलङ्काले आइतबार छ स्वर्ण, ११ रजत र दश कास्य जितेको छ । उसले हालसम्म ३६ स्वर्ण, ६८ रजत र ९३ कास्य गरी कुल पदक संख्या १९७ पुर्याएको छ ।
पाकिस्तानले पनि आइतबार पाँच स्वर्ण, चार रजत र ११ कास्य जितेको छ । उसले २९ स्वर्ण, ३४ रजत र ४७ कास्य गरी कुल १०५ पदक प्राप्त गरेको छ । पाँचौं स्थानको बङ्गलादेशले आइतबार एक स्वर्ण, छ रजत र ११ कास्य जित्यो । उसले आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित १०२ पदक प्राप्त गरेको छ ।
माल्दिभ्सले एक स्वर्ण र दुई कास्य गरी तीन पदक र भुटानले हालसम्म नौ कास्य जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?