logo
२०८१ बैशाख ८ शनिवार



भुटानको सनसनीपूर्ण यात्रा, पहिलो पटक साग फुटबलको फाइनलमा

पढ्नै पर्ने |
खेलकुद |


भुटानको सनसनीपूर्ण यात्रा, पहिलो पटक साग फुटबलको फाइनलमा


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । भुटानको पुरुष फुटबल टोली दक्षिण एसियाली खेलकुद(साग)को ३५ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा भुटानले श्रीलङ्कामाथि एकपक्षीय जित निकाल्दै स्वर्ण पदकको उपाधिको होडमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलङ्कामाथि ३–० को जित निकाल्दै साग पुरुष फुटबलको फाइनलमा स्थान सुिनश्चित गरेको छ । नेपालबाट ४–० को फराकिलो हार बेहोरेपनि भुटानले बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशलाई उद्घाटन खेलमा १–० ले हराएको भुटान माल्दिभ्समाथि २–१ को जित हात पारेको थियो । तीन खेलमा जित हात पार्दै उसले ९ अङ्क बटुलेको छ ।
लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीच स्पर्धा हुनेछ । आइतबार साँझ पाँचबजेदेखि उक्त खेल हुनेछ । उक्त स्पर्धाको विजेता टोलीसँग भुटानले फाइनलमा स्वर्ण पदकको लागि स्पर्धा गर्नेछन् । नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेपनि फाइनलमा पुग्नेछन् । नेपालको ७ अङ्क रहेको छ । बङ्गलादेशले चार अङ्क जोडेको छ । नेपालले उक्त खेलमा हार बेहोरे सामान अङ्क हुँदाहुँदै हेड टु हेड खेलको आधारमा नेपाललाई उछिन्दै बङ्गलादेशले भुटानसँगको भेट सुनिश्चित गर्नेछ ।
भुटानले पदक तालिकामा हालसम्म छ कास्य मात्रै जितेको छ । फाइनलमा स्थान सुरक्षित गरेसँगै भुटानले फाइनलमा उत्रिनु अघिसम्म कम्तिमा रजत पदक भने पक्का गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?