logo
२०८१ बैशाख १३ बिहीवार



गौरिकाको दोस्रो स्वर्णपदक सँगै नेपाललाई ४१ स्वर्ण

पढ्नै पर्ने |
खेलकुद |


गौरिकाको दोस्रो स्वर्णपदक सँगै नेपाललाई ४१ स्वर्ण
तस्विर - विकास द्वारे


इश्वरचन्द्र झा
काठमाडौं, मङ्सिर २० गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा छैठौं दिनको खेलसम्म ४१ स्वर्ण पदक जितेको छ । सागको छैठौं दिन नेपालले गल्फमा दुई, एथ्लेटिक्स, भारत्तोलन र पौडीमा एक एक गरी पाँच स्वर्ण जित्यो । सागको तेह्रौं संस्करणमा नेपालले हालसम्म कुल ११६ पदक प्राप्त गरेको छ ।
काठमाडौं–पोखरा–जनकपुरधाममा जारी सागको तेह्रौं संस्करणमा हालसम्म १६९ स्वर्ण पदकको नतिजा आइसकेको छ । कुल ३२४ स्वर्णका लागि स्पर्धा हुँदैछ । नेपालले हालसम्म ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित ११६ पदक प्राप्त गरेको छ । पहिलो तीन दिन सागको तेक्वान्दो र कराँते विधामा प्रभुत्व कायम गर्दै नेपाल पदक तालिकाको शिर्ष स्थानमा रहेपनि चौथो दिन भारतले एकैपटक १५ स्वर्ण जितेर शिर्ष स्थान उक्लिएको हो । भारतले हालसम्म ८१ स्वर्ण, ५९ रजत र २५ कास्य गरी १६५ पदक जितेको छ ।
तेस्रो स्थानमा श्रीलङ्का छन् । श्रीलङ्काले २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित १३४ पदक जितेको छ । पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित कुल ७३ पदक प्राप्त गरेको छ । पाँचौं स्थानमा रहेको बङ्गलादेशले चार स्वर्ण, १८ रजत र ५१ कास्यगरी कुल ७३ पदक जितेको छ । माल्दिभ्स भने एक स्वर्ण र दुई कास्यसहित तीन पदक प्राप्त गर्दा भुटानले हालसम्म छ कास्य प्राप्त गरेको छ ।
गौरिकालाई दोस्रो स्वर्ण
गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा दोस्रो स्वर्ण जित्नुभएको छ । उहाँले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण प्राप्त गर्नुभयो । उक्त दूरी गौरिकाले दुई मिनेट १७.७३ सेकेण्डमा पुरा गर्नुभयो । भारतकी मन्ना पटेलले दुई मिनेट २०.७१ सेकेण्ड लगाएर रजत प्राप्त गर्नुभयो । श्रीलङ्काकी गंगा सेन उक्त दूरी दुई मिनेट २७.२५ सेकेण्डमा पार गरेर कास्यमा चित्त बुझाउनुभयो ।
भारत्तोलनमा विकासलाई स्वर्ण
नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को भारत्तोलन विधामा दोस्रो स्वर्ण जितेको छ । नेपालका लागि विकास थापाले ८९ किलो तौल समूहमा स्वर्ण पदक दिलाउनुभएको हो ।
पोखरामा सम्पन्न भारत्तोलनको उक्त विधामा विकासले बङ्गलादेशका मोहम्मदभन्दा एक किलो बढी उचालेर स्वर्ण पदक जित्नुभयो । उहाँले स्न्याचमा १२३ किलो र क्लिन एण्ड जर्कमा १४० किलो गरी २६९ किलो भारवहन गर्नुभयो ।
गल्फमा १७ वर्षे सुवासलाई स्वर्ण
सुवास तामाङले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को गल्फ विधामा स्वर्ण पदक जित्नुभयो । सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण पदक जित्नुभएको हो ।
गोकर्णमा सम्पन्न सागको गल्फ विधा अन्तगर्त सुवासले अन्तिम दिन तीन अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित नेपाललाई ३८ औं तथा ३९ औं स्वर्ण दिलाउनुभयो । उहाँले बङ्गलादेशका मोहम्मद फरहादलाई पराजित गर्नुभयो । फरहादले ६ अन्डर २८२ स्कोर जोड्नुभयो । उहाँको उमेर १७ वर्ष छ । नेपालका लागि सबैभन्दा कम उमेरमा दोहोरो स्वर्ण दिलाएको कीर्तिमान समेत सुवासले बनाउनुभएको छ ।
टिम इभेन्टमा सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले संयुक्त स्वर्ण दिलाउनुभयो ।
एथ्लेटिक्समा पार्कीलाई स्वर्ण
गोपीचन्द पार्कीले दक्षिण एसियाली खेलकुदको पुरुष पाँच हजार मिटर दौडमा भारतीय प्रतिद्वन्दीलाई पराजित गर्दै नेपाललाई ३७ औं स्वर्ण दिलाउनुभयो । उहाँले पाँच हजार मिटरको दूरी पार गर्न १४ मिनेट ५४.२० सेकेण्ड लगाउनुभयो । भारतका सुनिल दवारले उक्त दूरी १४ मिनेट ५५.२१ सेकेण्डमा पार गर्नुभएको थियो । एथ्लेटिक्स महिला विधामा दश हजार मिटरतर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जित्नुभएको थियो ।
कुन विधामा कति स्वर्ण
नेपालले हालसम्म तेक्वान्दोमा १२ स्वर्ण जितेको छ । कराँतेतर्फ १० स्वर्ण हात पार्दा नेपालले साइक्लिङ्ग र उसुमा चार चार, पौडीमा गौरिकाको दुई तथा एलेक्स शाहको एक गरी तीन तथा गल्फ, बक्सिङ्ग र एथ्लेटिक्समा दुई दुई एवम् ट्रायथोलन र डुवाथोलनमा एक एक स्वर्ण जितेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?