logo
२०८० चैत्र १६ शुक्रवार



दुर्घटना कम गर्न ‘रेट्रो स्टिकर’

प्रदेश |


दुर्घटना कम गर्न ‘रेट्रो स्टिकर’


बाँके, मङ्सिर ६ गते ।  सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ ।

सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पबिन्द्र बमले बताउनुभयो ।

नेपालगञ्ज–कोहलपुर सडकमा विशेषगरी रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक बमका अनुसार नेपालगञ्ज–कोहलपुर सडकमा दुर्घटना बढ्न थालेपछि रिफ्लेक्ट स्टिकर टाँसिएको हो । उहाँले भन्नुभयो, “नेपालगञ्ज–कोहलपुर सडकखण्डमा रातिको समय बढी दुर्घटनाहरु हुन थालेको पाइएकाले स्टिकर टाँसिएको हो ।”

खुला सडक, तीव्र गति, मनपरी बाटो काट्ने, जहाँ पायो त्यहीँ पार्किङ गर्ने तथा पर्याप्त लाइटिङको कमीका कारण रातको समय नेपालगञ्ज–कोहलपुर सडकमा दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । ट्राफिक प्रहरी निरीक्षक बमले भन्नुभयो, “रिफ्लेक्ट स्टिकरले रातमा सवारीसाधन चलाउन सहजता दिए पनि यतिले मात्र सडक दुर्घटना न्यूनीकरण हुँदैन । सबैजना सचेत र सजग हुुनपर्छ ।”

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मात्र सम्भव नभएको बताउँदै उहाँले सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कअनुसार असोज १२ देखि कात्तिक २५ गतेसम्म २९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा सात जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् । दुर्घटनामा परी दुईवटा पशुचौपायासमेत मरेका छन् ।

चार लेन सडकमा दुर्घटनाको जोखिम

जहाँ जतिबेला मन लाग्यो त्यतिबेला सडक खन्ने खानेपानी संस्थानका कारण दुर्घटनाको जोखिम बढेको छ । कमसल निर्माणका कारण चार लेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला खानेपानी संस्थानले सडक जहाँ पायो त्यहीँ खनेर छाडेपछि दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन् ।

नेपालगञ्जको राँझादेखि जमुनाहासम्मको सडकखण्डमा जताततै खाल्डैखाल्डा पारिएको छ । खानेपानी संस्थानले आफ्नो पाइप मर्मत गर्ने नाममा ठाउँठाउँमा खाल्डा खन्दै छाडेको छ । पाइप मर्मत गरिसकेपछि पनि संस्थानले सामान्यरुपले खाल्डो पुर्ने कामबाहेक अरू केही नगरेको स्थानीयवासीको गुनासो छ । “खानेपानी संस्थानले जथाभावी सडक खन्ने गरेको छ, यसले दुर्घटनाको खतरा झन् बढाएको छ”, स्थानीयवासी रामकुमार शर्माले बताउनुभयो ।

पटकपटक खानेपानी संस्थानविरुद्ध प्रश्न उठे पनि कार्यालयले यस विषयमा चासो नदेखाएको उहाँको भनाइ छ । सडक निर्माणका क्रममा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजना कार्यालयबीच समन्वय नहुँदा समस्या देखिएको नेपालगञ्जवासीको भनाइ छ । जसका कारण सडकमुनि जथाभावी रुपमा गाडिएका पाइपबाट पानी लिकेज हुने गरेको छ ।

पानी लिकेज हुने बित्तिकै खानेपानी संस्थानले पाइप मर्मतका नाममा सडक नै खन्ने गरेको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख रामकुमार बेदले बताउनुभयो । “खानेपानी संस्थानले पाइप मर्मत गर्ने नाममा सडक खन्ने काम गरिरहेको छ, यसरी खन्दै जाने हो भने सडकको अवस्था के होला ?”, उहाँले प्रश्न गर्नुभयो ।

सडक निर्माणका क्रममा तीन निकायबीच समन्वय भएको भए अहिले सडक खन्ने अवस्था नआउने प्रमुख बेदको भनाइ छ । उहाँले भन्नुभयो, “खानेपानी संस्थानले सडक खन्दा सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सहमति लिनुपर्छ । सहमतिबिना सडक खन्न पाइँदैन । संस्थानले आफूखुशी सडक खनेर अलपत्र छाडिदिँदा सडकको गुणस्तर घटिरहेको छ ।”

चार लेन सडकका विभिन्न ठाउँमा खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको छ । सडकका खाल्डो नै दुर्घटनाको कारक बन्दै गएपछि यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यायन पुग्न नसकेको नेपालगञ्जवासीको गुनासो छ । सडक बनाउँदा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजनाबीच समन्वय नहुँदा समस्या भएको हो ।

चार लेन सडक निर्माणमा एडिबीको ६६ दशमलब ६ प्रतिशत ऋण अनुदान र नेपाल सरकारको ३३ दशमलव ३ प्रतिशत लगानी भएको थियो । नेपालगञ्ज–कोहलपुर आयोजनाको ‘आइसिबी कन्ट्र्याक्ट–१’ अन्तर्गत राँझा–जमुनाहा खण्ड एमएमआर पप्पु जेभी कम्पनी र राँझा–कोहलपुर खण्ड ‘आइसिबी कन्ट्र्याक्ट–२’ अन्तर्गत कालिका कन्सट्रक्शन कम्पनीले निर्माण गरेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?