logo
२०८१ बैशाख १२ बुधवार



बेपत्ता तथा सत्य निरुपण आयोगका संभावित पदाधिकारीको नाम सार्वजनिक

पढ्नै पर्ने |




नारायण काफ्ले
काठमाडौँ, मङ्सिर १ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस समितिले सम्भावित पदाधिकारीको नाम सार्वजनिक गरेको छ । सूचीकृत व्यक्ति उपर कुनै उजुरी भएका दिने प्रयोजनका लागि नामावली सार्वजनिक गरिएको हो । आयोग गठनसम्बन्धी ऐनको प्रावधान अनुसार सार्वजनिक सुनुवाइका लागि नामावली सार्वजनिक गरिएको हो । नाम सार्वजनिक भएका व्यक्तिउपर कुनै उजुरी भएमा पाँच दिनभित्र समितिलाई दिन सकिनेछ ।
सिफारिस समितिले राजनीतिक तहमा भएको परामर्शका आधारमा सात जनाको नाम थप गरेर सार्वजनिक गरेको छ । समितिले कूल ६१ जनाको नाम सार्वजनिक गरेको हो । समितिले दुबै आयोगका अध्यक्षमा पनि यसअघि आवेदन नदिएका व्यक्तिहरुको नाम समावेश गरेको छ ।
‘राजनीतिक तहमा पनि अनौपचारिक रुपमा परामर्श भइरहेको थियो । उक्त परामर्श समेतका आधारमा हामीले केही नामहरु थप गरेर विस्तृत नामावली सार्वजनिक गर्ने निर्णय गरेका छौँ । सोमबारदेखि नै गुनासो प्रतिक्रिया दर्ता हुने गरी नामा सार्वजनिक हुनेछ’, सिफारिस समितिका एक सदस्यले भन्नुभयो ।
समितिले व्यक्तिगत विवरण भरेका तर, योग्यता नपुगेका उम्मेदवारको नामावली भने सार्वजनिक नगर्ने निर्णय पनि गरेको छ । निर्णय अनुसार समितिले व्यक्तिगत विवरण भरेका ५०, संघ, संस्थाका तर्फबाट प्रस्तावित ४ र समितिले थप गरेका सात समेत गरी ६१ जनाको नाम सार्वजनिक गरेको हो ।
समितिले थप्यो सात जनाको नाम
राजनीतिक तहमा भएको समझदारी अनुसार समितिले दुबै आयोगको नेतृत्वसहित सात जनाको नाम थप गरेको छ । जसमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका यसअघिका अध्यक्ष लोकेन्द्र मल्लिकलाई पुनः आयोगकै अध्यक्ष हुनेगरी समितिले नाम थप गरेको छ ।
राजनीतिक तहमा भएको समझदारी अनुसार गणेशदत्त भट्टलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष अध्यक्षका लागि नाम थपिएको छ । यस्तै, यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत दुई सदस्यको नाम सिफारिस समितिले थप गरेको छ । जसमा श्रीकृष्ण सुवेदी र मञ्चला झा रहनु भएको छ । यस्तै बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा यसअघि कार्यरत आइबहादुर गुरुङ र नरकुमारी गुरुङको नाम पनि समितिले थप गरेको छ । डा. गंगाधर अधिकारीलाई दुबै आयोगको सदस्यमा नाम थप गरिएको छ ।
को–को छन् प्रत्यासी
वैयक्तिक विवरण संलग्न गर्ने क्रममा सर्वोच्च र उच्च अदालतमा न्यायाधीश भइसकेका व्यक्तिहरुले पनि आयोगको नेतृत्वका लागि इच्छा व्यक्त गरेका छन् । सर्वोच्चका पूर्व न्यायाधीश कमल नारायण दासले सत्य निरुपणको अध्यक्षका लागि आवेदन दिनुभएको छ । यस्तै, उच्च अदालतका पूर्व न्यायाधीश युवराज सुवेदीले पनि आवेदन दिनुभएको छ ।
यस्तै, दुबै आयोगको अध्यक्षका लागि सलाउद्दिन अख्तर सिद्दिकी, युवराज सुवेदी, ताराबहादुर न्यौपाने, अली अकबर मिकरानी, सीताप्रसाद पोखरेल, गोविन्द गौतम र दुर्गाबन्धु पोखरेलले आवेदन दिनुभएको छ । यस्तै, सत्य निरुपणको अध्यक्षका लागि मात्रै दुमनसिंह थापा क्षेत्री, गोपिचन्द्र भट्टराई र मधुप्रसाद रेग्मीले आवेदन दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?