पाटन–पञ्चेश्वर सडक बनेपछि भारतसँगको परनिर्भरता हट्यो

पढ्नै पर्ने |
राष्ट्रिय |


2019-11-13-4106


गोकर्ण दयाल

बैतडी, कात्तिक २७ गते । ३४ वर्षपछि बैतडीको स्वराड क्षेत्र सडक संजालसँग जोडिएपछि भारतसँगको परनिर्भरता हटेको छ । सुस्त गतिमा रहेको पाटन–पञ्चेश्वर सडक संघीय सरकारको अनुदान र प्रदेश सरकारको अगुवाईमा सडकले गति लिएपछि बैतडीको तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको भारतसँगको परनिर्भरता हटेको हो ।

२०४२ सालमा निर्माण सुरु भएको पाटन–पञ्चेश्वर सडक खण्डको ६५ किलो मिटर मध्ये ६० किलोमिटर सडक पूरा भएको छ । सडक खण्डको ३० किलो मिटर कालोपत्रे समेत हुन थालेको छ ।

संघीय सरकारको ७२ करोड रुपियाँको अनुदानमा प्रदेश सरकारको अगुवाईमा पाटन–पञ्चेश्वर सडक खण्ड साढे पाँच मिटर चौडा बनाएर कालोपत्रेको काम समेत अघि बढेको छ । सुस्त गतिमा रहेको सडकले संघीयतापछि गति लिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । सडक पुगेपछि यहाँका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकावासीको गाडी चढ्ने धोको पूरा भएको अध्यक्ष चन्दले बताउनुभयो ।

बैतडीको पाटन नगरपालिकाबाट सुरु भएको पाटन–पञ्चेश्वरसडक खण्डको कुल ६५ किलो मिटर सडक मध्ये ६० किलोमिटर सडक पूरा भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रमुख ईन्जिनियर जोशीले भन्नुभयो, पाटन–पञ्चेश्वर सडक जिल्लाकै नमुना सडक बन्दै छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रेसंगै बैतडीकै सबैभन्दा फराकिलो सडक बन्दै छ । सडक पूरा भएपछि बैतडीको तल्लोस्वाड क्षेत्रको भारतसंगको परनिर्भरता हटेको छ । पाटनदेखि मैलौली नगरपालिकाको काँडा बजारसम्म ३० किलो मिटर सडक कालोपत्रे गर्नेे काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ । हिँडेर बैतडी सदरमुकाम पुग्न यो क्षेत्रका स्थानीयलाई एक दिन लाग्ने गरेकोमा अहिले तीन घण्टामै सदरमुकाम पुग्न सकिने पञ्चेश्वर गाउँपालिकाका स्थानीय धनवीर सार्कीले बताउनुभयो ।

सार्कीले भन्नुभयो, सडक पुगेपछि पञ्चेश्वरसम्म गाडी चल्न थालेका छन् । खाद्यान्न लगायतका सामग्री नेपालबाटै आउन सुरु भएको छ । सडक नहुँदा महाकालीमा डुङगा तरेर पञ्चेश्वरबाट भारतको लोहाघाट जानु पर्ने बाध्यता थियो । अब विस्तारै त्यो बाध्यता हट्न थालेको छ ।

सडक पुगेपछि औषधि उपचार गर्न समेत सजिलो भएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुशमा चन्दले बताउनुभयो । उपाध्यक्ष चन्दले भन्नुभयो, सुत्केरी व्यथा लागेकी महिलालाई महाकाली नदीमा ट्यूब र डुङ्गाबाट तराएर भारत लैजानु पर्ने बाध्यता हटेको छ । सडकले स्वदेसमै उपचार गर्न सजिलो हुन थालेको छ । सडक पुगेपछि यो क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले एम्बुलेन्स किन्ने योजना समेत सार्वजनिक गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?