logo
२०८१ बैशाख ४ मंगलवार



बजारी क्षेत्रमा भन्दा गाउँमा समाचकेवाको रौनक

पढ्नै पर्ने |


बजारी क्षेत्रमा भन्दा गाउँमा समाचकेवाको रौनक


सन्तोष सुवेदी

सिरहा, कात्तिक २४ गते । मैथिली समाजमा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायूको कामनाका लागि मनाइने समाचकेवा पर्वको रौनक बजारमा भन्दा गाउँमा बढ्दै छ ।

तराई मधेशका बजारी क्षेत्रमा विभिन्न किसिमको पेशा र व्यापारमा आवद्ध रहनुपर्ने बाध्यताका कारण समाचकेवाको रौनक देखिदैन तर बजारदेखि भित्री गाउँ छिर्नेबित्तिकै टोल टोलमा यो पर्वको रौनक देख्न सकिन्छ । कात्तिक पूर्णिमासम्म मनाइने समाचकेवा पर्वको रौनक ग्रामीण क्षेत्रमा यति छ कि अहिले ग्रामीण क्षेत्रका हाटबजारमा समाचकेवाका लागि उपयोगी सामग्री मात्र भेटिन्छन् ।

तराई मधेशमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकको रुपमा मानिएको यो पर्व मनाउन माटाका विभिन्न प्रकारका मानव, चरा र जनावर लगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्य रात्रीमा विशेष पूजापाठ गरिन्छ । काँचो माटोले बनाइएका यस्ता मूर्तिलाई ‘समा’ र त्यही समालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने गरिएको छ । पूजापाठको क्रममा ग्रामीण महिलाले मैथिल लयले गाउने गीतले गाउँ नै गुञ्जायमान हुन्छन् ।

मैथिली साहित्यकार अर्जुन प्रसाद गुप्ता ‘दर्दिला’ का अनुसार, दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने यो पर्वमा खासगरी दाजुको प्रशंसा तथा पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा अर्थात् चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्ने गर्दछन् ।

माटोको आकृतिमा सामाचकेवा, चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वन तीतर, झाँझी कुत्ता, मलिनियाँ, वृन्दावन लगायत मनोरञ्जनका पात्र हुन्छन् । मिथिलामा सामाचकेवाको प्रचलन प्राचीनकालदेखि नै रहेको पाइन्छ । पद्म पुराणमा चर्चा गरेको यो पर्व मुख्यतः भाइबहिनीको प्रेममा आधारित छ ।

भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा जस्ता गीत समावेश गरिएको यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटल सम्बन्ध समेत छल्किन्छ । माटो निर्मित ती सबै पात्र अहिले सिरहाको बजार बजारमा विक्री गर्न राखिएका छन् । यस्ता मूर्तिहरु विक्री गरेर कोही कोहीले वर्षैभरीको जोहो समेत टार्ने गरेका छन् ।

‘अहिले गाउँ गाउँमा समाचकेवासँग सम्बन्धित माटो निर्मित स–साना मूर्तिको माग बढ्दो छ’, भगवानपुर गाउँपालिका–१ निवासी मूर्तिकार उदयमान पण्डितले भन्नुभयो–समाचकेवाका लागि चाहिने सामग्री विक्री गरेर एक वर्षभरी छोराभतिजाका लागि पढ्ने सामग्री जुटाउन सकिन्छ ।

नभन्दै उदयमानसँग समाचकेवासँग सम्बन्धित सामग्री विक्री गर्न शनिवार सुखीपुरको हाटमा उहाँका भतिजी चाँदनी कुमारी पण्डित र भतिजा प्रमोद कुमार पण्डित दुवै आएका थिए । ‘छठ पर्व सकिए लगत्तै हामी समाचकेवासँग सम्बन्धित माटोका सामग्री लिएर विभिन्न हाटबजार धाइरहेका छौ’, भगवानपुरमा कक्षा १० मा अध्ययनरत चाँदनीले भनिन्–भगवानपुरदेखि सुखीपुरको हाटमा हामीले यसपालि करिब एक लाख बराबरको माटोका सामग्री विक्री गरिसकेका छौं । मूर्तिकार उदयमानका अनुसार, एउटा सानो खाले मूर्तिलाई ५० देखि ७५ रुपियाँमा विक्री गरिन्छ । समाचकेवासँग सम्बन्धित सम्पूर्ण मूर्ति सम्मिलित एक सेटलाई पाँच सयदेखि सात सयसम्म पर्छ । मूर्तिका साथै मूर्तिहरुलाई राख्न ढाकी र डाली पनि यस पर्वमा विक्री हुने गर्दछ ।

‘मिथिला सँस्कृति अन्तर्गतका यस्ता चाडपर्व शहरमा भन्दा ग्रामीण बजारमा धुमधामका साथ मनाइने भएको हुनाले यस्ता चाडपर्वमा चाहिने सामग्रीको विक्री वितरण पनि ग्रामीण बजारमै हुने गरेको छ’, सुखीपुर व्यापार समितिका पुर्व अध्यक्ष शत्रुघ्न चौधरीले भन्नुभयो–कात्तिक पूर्णिमासम्म विक्रीका लागि राखिने यस्ता रङ्गविरङ्गी मूर्तिले गाउँघरको बजारलाई झनै रङ्गिन बनाइदिने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?