logo
२०८१ बैशाख १३ बिहीवार



जेलमा निःशुल्क खान पाइने भन्दै प्रहरीकै अगाडि चोरी !

पढ्नै पर्ने |


जेलमा निःशुल्क खान पाइने भन्दै प्रहरीकै अगाडि चोरी !


सुरेन्द्र खत्री

रुकुम (पश्चिम)कात्तिक २२ गते । जेलभित्र सित्तैमा खाना खान पाइने भन्दै यहाँका एक युवाले प्रहरीकै अगाडि मोबाइल पसलमा चोरी गरेका छन् ।

मुसीकोट नगरपालिका –२ का २० वर्षीय राजु परियारले सदरमुकाम मुसिकोट स्थित एक मोबाइल पसलमा चोरी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । मोबाइल पसलको ताला तोडेर नगद सहित मोबाइल र अन्य सामाग्रीहरु चोरी गरेको भन्दै परियार विरुद्ध प्रहरीले चोरी डाँका मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

कार्तिक १६ गते राति मुसीकोट नगरपालिका –१ त्रिवेणीचोकमा रहेको निर्मल विकको मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई कात्तिक १८ गते पक्राउ गरेका थियो । यसअघि पनि उनले २०७३ कार्तिक २३ गते खलंगाको एउटा कोठामा चोरी गरेको आरोपमा पक्राउ परेका राजु तीन वर्ष जेल सजाय भुक्तान गरेर भर्खरै बाहिर आएका थिए । पसलका संचालक निर्मलका अनुसार राजुले तीन थान मोबाइल, तीन वटा मोबाइलका ब्याट्री तथा ४ हजार ३ सय ८० बढी नगद चोरी गरेका थिए । एउटै मुद्दामा दुई पटक समातिएपछि प्रहरीले अनुसन्धान गर्दा राजुले खान, बस्नको लागि चोरी गरेको तथ्य फेला पारेको छ । जेलमा निःशुल्क खान पाइने भएकाले राजुले प्रहरीबाट पक्राउ पर्न चोरी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा आफूलाई खान सजिलो हुन्छ भनेर चोरी गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । राजुले जेलबाट निस्केपछि खान, बस्नको कुनै ठेगान नभएकाले फेरि जेल जान चोरी गरेको बयान दिएका छन् । उनका बाबुको मृत्यु भएको र आमाले वास्ता नगरेपछि खान, बस्ने पाइने उद्देश्यले चोरी कार्यमा संलग्न भएको प्रनाउ खड्काको भनाइ छ । प्रहरीले पक्राउ गरोस् भनेर चोरी गरेर बजारमा नै घुमिरहेको सम्मको बयान राजुले दिएको प्रहरीले जनाएको छ ।

यसैबीच, घुम्ती पसलमा आगो लगाएर फरार रहेका दुई जना व्यक्तिहरु समेत पक्राउ परेका छन् । कार्तिक ८ गते स्थानीय चुडामणि ओलीको घुम्ती पसलमा आगो लगाएर फरार रहेको अभियोगमा प्रहरीले जिल्लाको मुसिकोट नगरपालिका –११ भलाक्चाका ३१ वर्षीय तिलक ओली र सोही निवासी ४८ वर्षीय कुलप्रसाद भन्ने बिरबल ओलीलाई पक्राउ गरेको हो ।

आगलागीबाट पसलमा रहेको, चिनी, दाल, चामल लगायतका सामग्री जलेर नष्ट भएका थिए । पीडितको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एकजनालाई मुसिकोट नगरपालिका –४ सोलाबाङ बजारबाट पक्राउ गरेको र अर्कालाई दाङ तुल्सिपुरबाट पक्राउ गरेको थियो । दुबैजना उपर आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी (आगो लगाएको) कसुर मुद्दामा थुनामा राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?