logo
२०८१ बैशाख ७ शुक्रवार



करौडौंका सरकारी गाडी अलपत्र, बिग्रिएका बन्दैनन् नयाँ किन्दैनन्

पढ्नै पर्ने |


करौडौंका सरकारी गाडी अलपत्र, बिग्रिएका बन्दैनन् नयाँ किन्दैनन्


तिलाचन पाण्डे
तम्घास , कात्तिक २१ गते । गुल्मीमा सरकारी सेतो प्लेटनम्बरका सवारी साधन प्रयोगविहीन अवस्थामा रहेका छन् । जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा विग्रिएको अवस्थामा सरकारी गाडी एकातिरको कुनामा थन्किएर बसेका छन् । तिमध्ये कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेख समेत पाइदैन् । सबैभन्दा धेरै मूल्यका जिल्ला समन्वय समितिमा र सबैभन्दा कम मूल्यका डिभिजन बन कार्यालयमा रहेका छन् । जिल्लामा मोटरसाईकल, एम्बुलेन्स, यात्रा गर्ने गाडी देखि डोजरसम्म प्रयोगविहिन अवस्था रहेका छन् । त्यसरी प्रयोगविहिन अवस्थामा रहेका सामग्रीको हालको नयाँ मुल्य सात करोड ३३ लाख २५ हजार रुपैयाँ पर्न जाने देखिन्छ ।

समन्वय समतिमा मात्रै ६ करोडका बिग्रिएका गाडी

जिल्ला समन्वय समितिको प्राङ्गणमा कुल पाचँवटा गाडी बिग्रिएको अवस्थामा छन् । जसमध्ये एउटा मोटरसाईकल छ भने अन्य चारवटा ल्यान्डरोभर कम्पनीका गाडी छन् । तिमध्ये एउटा बनाए बन्ने अवस्थामा छ । तर बनाइएको छैन् । बा १ झ ६६० नम्बर र बा १ झ ६६८१ नम्बरको ल्यान्डरोभर गाडी वि.स. २०६० असोज १० गते गार्डेपबाट तत्कालिन जिल्ला विकास समितिलाई हस्तान्तरण भयो । उक्त गाडीको खरिद मिति भने जिन्सि किताबमा उल्लेख छैन । बा १ झ ६६० नम्बरको गाडी बनाए बन्ने अवस्थामा छ तर बनाइएको छैन ।

बा १ झ ६६८१ नम्बरको गाडी विग्रिएको सात बर्ष भयो । दुवै गाडीको खरिद मुल्य तत्कालिन समयमा ४०÷४० लाख उल्लेख गरिएको छ । तर अहिले भने सोहि कम्पनीको नयाँ गाडीको मुल्य डेढ/डेढ करोड पर्ने अनुमान गरिएको छ ।

सोहि कार्यालयमा भएको एउटा कालो रङको गाडीको नम्बर प्लेट नै छैन । उक्त गाडि कति बर्षदेखि बर्षदेखि त्यहाँ छ भन्ने समेत कुनै अभिलेख छैन । ल्यान्डरोभर कम्पनीको नयाँ गाडीको हालको मुल्य डेढ करोड पर्छ । गाडिको वरीपरि लेउ लागेको छ भने अन्यन्तै जिर्ण अवस्थामा रहेको छ । जिल्ला समन्वय समितिकै प्राङ्गणको अर्को कुनामा अर्को ल्यान्डरोभर कम्पनीकै गाडी विग्रीएको अवस्थामा छ र उक्त गाडी पनि कति समयदेखि त्यहाँ छ भन्ने कुनै अभिलेख छैन । सोहि कम्पनीको हालको बजार मूल्य पनि डेढ करोड पर्छ । तर समन्वय समितिले गाडीको उचित व्यवस्थापन पनि गर्न सकेको छैन । जिससमै एउटा मोटरसाईकल बिग्रीएको अवस्थामा छ । कार्यालयको कुनामा भएकोले बिग्रिएको मोटरसाइकल देखिदैन पनि । यामाहा कम्पनीको दुई लाख ५० हजार मुल्य बराबरको मोटरसाईकल पनि प्रयोगविहिन अवस्थामा छ ।

गाडीले हामीलाई हेरेका छन् हामीले गाडीलाई हेरेका छौ - समन्वय प्रमुख

जिल्ला समन्वय समितिले हालसम्म कुनै पनि नयाँ गाडी किनेको अभिलेखमा उल्लेख छैन् । तर समन्वय समितिमा हालसम्म अरुले अनुदान दिएका गाडीबाटै काम चलाइएको छ । तत्कालिन जिल्ला विकास समिति अहिले जिल्ला समन्वय समितिमा परिणत भएको छ । तर प्रत्येक केहि बर्षमा नयाँ गाडी अनुदान आउने भएकोले पुराना गाडीहरु मर्मत गरिएको छैन । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले समितिमा आफुहरु आउनुभन्दा पहिले नै गाडीहरु रहेको बताउनुभयो । उहाँले पुराना गाडीहरु मर्मत गरेर चलाउन सक्ने अबस्थामा नभएको र पुराना गाडीहरुको मुल्य करोडौं पर्ने भएको तर लिलाम प्रक्रियामा जाँदा लाख पनि नपर्ने भएकाले गाडीले हामीलाई हेरेका छन् हामीले गाडीलाई हेरेको बताउनुभयो ।

टेलिकममा डोजरको भग्नावशेष

जिल्ला दुरसञ्चार कार्यालय, नेपाल टेलिकमको भवनअगाडी एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दुरसञ्चार कार्यालय स्थापना भएको १२ बर्ष भयो । त्यहि समयदेखि नै उक्त डोजर त्यहि अवस्थामा एउटै ठाउँमा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । तर तत्कालिन समयमा सडक विभागले खरिद गरेको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख रुकमागत सापकोटाले जानकारी दिनुभयो । ‘ टेलिकमले डोजर नकिन्ने तर सडक निर्माणको क्रममा त्यहाँ राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त डोजर अहिले वरीपरिका फुल र विभिन्न घाँसपातले पुरिएको छ । डोजर पनि एकदमै जिर्ण अवस्थामा रहेको छन् । तर उक्त डोजरबारे कुनै अभिलेख कतै नभेटिएको कार्यालयले जनाएको छ । टेलिकमकै अगाडी बर्षौ अगाडीदेखिका विभिन्न प्रकारका तारहरु पनि छन् । ति तारको हालको खरिद मुल्य तीन लाखभन्दा बढी पर्छ । ति भने लिलामी प्रक्रियामा रहेको कार्यालले जनाएको छ ।


जिल्ला अस्पतलामै छैन एम्बुलेन्स

जिल्लास्तरको सरकारी अस्पतालमै एम्बुलेन्स छैन भन्दा अचम्म लाग्न सक्छ । तर तम्घास अस्पतालको सन्दर्भमा यो कुनै नौलो र अनौठो विषय होइन् । अस्पतालका दुईवटा बिग्रिएका एम्बुलेन्स प्रर्दशनीमा राखेजस्तै छ । तर अस्पतालमा बिग्रेका एम्बुलेन्स बन्दैनन् । नयाँ किन्न कसैले चासो दिदैैँनन् । बर्षैदेखि एम्बुलेन्स चौरमा राख्दा सिटहरु बिग्रनुका साथै एम्बुलेन्सभित्रै घाँस उम्रिएको छ । एउटा मारुती सुजुकी कम्पनीको लु १ झ २७९ नम्बरको एम्बुलेन्स छ । सातबर्ष पहिले सिमिचौरमा दुर्घटना भएदेखि उक्त एम्बुलेन्स अस्पतालमै थन्किएको छ ।

अर्को लु १ झ २३५ नम्बरको एम्बुलेन्स छ । उक्त एम्बुलेन्सका कम्पनी पत्ता लाग्न सकेको छैन । दुवै एम्बुलेन्सको खरिद मिति र मुल्यबारे अस्पताल बेखबर छ । दुवै एम्बुलेन्सको हालको खरिद मुल्य ५० लाख भएपनि भन्सार छुट हुनेहुँदा २५ लाख पर्छ । अस्पताल प्रमुख डाक्टर उत्तम पाच्याले पहिलेदेखि नै विग्रेका एम्बुलेन्स रहेको र नयाँ एम्बुलेन्स खरिद प्रक्रिया सुरु नै नभएको प्रतिक्रिया दिनुभयो। तर अस्पतालको आफ्नै एम्बुलेन्स नभएपनि अन्य संस्थाका एम्बुलेन्सहरुले सेवा दिइरहेको हुँदा बिरामीहरु मर्कामा भने नपरेको उहाँले बताउनुभयो ।

बन कार्यालयमा मोटरसाइकल

जिल्ला बन कार्यालयमा बा १ व ७६४५ नम्बरको होन्डा कम्पनीको सरकारी नम्बर प्लेटको मोटरसाईकल पनि जिर्ण अवस्थामा छ । विगत १२ बर्षदेखि कार्यालयमै रहेको मोटरसाईकलको हालको मुल्य दुई लाख २५ हजार पर्छ । उक्त मोटरसाईकलको पनि लिलाम प्रक्रियाबारे कुनै थालनी गरिएको छैन ।

आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलामबिक्रिसम्बन्धी व्यवस्था गरिएको छ । जसमा काम नलाग्ने देखिएका मालसामानहरु लिलाम विक्री गर्ने, मर्मत गर्नुपर्ने दायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने व्यवस्था गरिएको छ । कुनै मेशिन, औजार तथा सवारीसाधनको स्पेयरपार्ट, पूर्जाको अवस्था तथा मर्मत सम्भार तथा संचालनमा बढी खर्च लाग्ने तथा वर्तमान अवस्थामा अनुपयोगी भनि मेकानिकल प्रविधिकबाट प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । त्यसको मुल्य हेरिकन कार्यालय प्रमुखले लिलाम गर्ने सूचना प्रकाशित गरी लिलाम गर्न पाउने संवैधानिक व्यवस्था छ । त्यसका साथै सोहि ऐनको उपनियम ७ मा एक लाखभन्दा माथिको सामगी्र लिलाम विक्रिको लागि १५ दिनको सुचना जारी गर्नुपर्ने छ ।

जसमा मालसामानको विवरण, न्यूनतम मूल्य, लिलाम बढबढ हुने स्थान, धरौटी राख्नुपर्ने अङ्क, लिलाम गरेको सामग्री उठाई जैजानुपर्ने अवधि लगायतका कुराहरु सुचनामा उल्लेख हुनुपर्ने ऐनमा उल्लेख गरिएको छ । त्यसैगरि लिलामित सामग्री लैजानको लागि धरौटी राख्नुपर्ने पनि उल्लेख छ । एकलाख रुपैँयासम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि तीनसय, एकलाखदेखि १० लाखसम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि एक हजार र १० लाखभन्दा माथि जतिसुकै रकम न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि दुई हजार धरौटी राख्नुपर्ने नियममा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?