logo
२०७८ मंसिर १५ बुधवार

  डोजरका भित्री कथा 



विकासका नाममा विनास, घाईतेदेखि मृत्युसम्मका शृंखला !

पढ्नै पर्ने |
खुला |


विकासका नाममा विनास, घाईतेदेखि मृत्युसम्मका शृंखला !


गाेकर्ण दयाल 

बैतडी, कात्तिक ६ गते । सोमबार दशरथ चन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई घाईते बनाएको घटनाले निकै चर्चा बटुलिरहेको छ । डोजरले घाईते भएकी महिलाको नेपालगञ्जमा उपचार भईरहेको छ भने डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि जिल्ला प्रशासन कार्यालय बैतडीले छानविन समिति गठन गरेको छ ।

स्थानीय तहको पुनः संरचनापछि बैतडीमा सबै स्थानीय तहले डोजर किनेका छन् । जनप्रतिनिधिले समेत आफन्तका नाममा स्काभेटर र डोजर किन्ने होडबाजी चलेको छ ।

डोजरले च्यापिएर बैतडीमा अहिलेसम्म दुई जनाको प्रत्यक्ष र एकजना डोजरले खनेको पहिरोमा पुरिएर ज्यान गुमाई सकेका छन् । बैतडीमा जथाभावी डोजर चल्दा खानेपानीका मुहान सुकेका छन् । डोजरले हुत्याउँदा सोमबार एक महिला गम्भीर घाईते हुनुभयो । बैतडीमा डोजर आतंकका भित्रि कथाका शृंखला यस्तो छ ।

बैतडीमा डोजरले यसरी तीन जनाको ज्यान लियो

घटना–१

वि.सं. २०७४ फागुन ४ गते पुर्चौडी नगरपालिका–५ को बित्थड–कुवाकोट सडकखण्डमा स्काभेटर दुर्घटना हुँदा चालक भीमदत्त नगरपालिका–९ कञ्चनपुरका ३८ वर्षीय रामबहादुर रावलको घटनास्थलमै मृत्यु भयो । नगरपालिकाले निर्माण गर्न लागेको कुवाकोट–हाट सडक खन्न जाने क्रममा साँघुरो सडकबाट स्काभेटर खस्दा चालकले ज्यान गुमाएका थिए ।

घटना–२
सोही वर्ष फागुन २६ गते दशरथचन्द नगरपालिका–२ को हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गर्ने क्रममा स्काभेटर मुनि च्यापिएर सहचालक बाँके, कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठको मृत्यु भयो । प्रतिघण्टाको हिसाबले पारिश्रमिक पाइने भएकाले राती ९ बजे सडक निर्माणको क्रममा सहचालकले ज्यान गुमाए ।

घटना–३

स्काभेटरले सडक काट्ने क्रममा पहिरो खसेर गत वर्ष पूर्चौडी नगरपालिका–१, भकुडाका २२ वर्षीय दिलबहादुर गडालको ज्यान गयो । स्काभेटरले सडक काटेको हेरिरहेका उनको सडक माथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको थियो । मेसिनले हल्लाएको जमिन कमजोर भएपछि आएको पहिरोकै कारण उहाँले ज्यान गयो । उहाँको शव एकदिनपछि मात्र निकालिएको थियो ।

स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा डोजर

बैतडीमा स्थानीय तहको निर्वाचनपछि सडक निर्माणको लागि मेसिन लगाउने प्रतिस्पर्धा नै चलेको छ । स्काभेटर र डोजरको जथाभावी प्रयोगले अनाहकमा काल निम्तिरहेको छ । सडक बनाउन मेसिन प्रयोग गर्ने क्रममा बैतडीमा अहिलेसम्म तीन जनाले ज्यान गुमाइसकेका छन् भने हालै ग्वाल्लेकमा एक महिला गम्भीर घाईते हुनुभयो । विना सूचना जथाभावी सडक निर्माणको होडबाजीले खेतीयोग्य जमिन र वनजंगल मासिनुका साथै भूक्षयले खानेपानीका मुहान समेत सुक्न थालेका छन् ।

नयाँ ट्रयाक खोल्न डोजर, स्काभेटरजस्ता ठूला निर्माण सामग्रीको प्रयोगले जमिन कमजोर भएर बैतडीमा पहिरोको जोखिमसमेत बढ्दै गएको छ । स्थानीय तहले जता पहिरो त्यतै सडक लैजान थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । पहिरोको शिरानीबाट सडक लगेपछि मेलौली नगरपालिका–८, बिशालपुरका करिब चार सय ४२ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

यस्तै, पुर्चौडी नगरपालिका–८, मल्लादेहीमा पनि पहिरो जाने क्षेत्रमै सडक लगेपछि बर्खायाममा घरमा बस्न डराउनु पर्ने अवस्था आएको स्थानीय गणेश सिंह साउँदले बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि मेसिन लगाएर सडक काट्ने क्रम विगतका वर्षभन्दा दोब्बर भएको छ । विकास गर्ने भन्दै जथाभावी काटिएका सडककै कारण समस्या निम्ताएको छ । स्थानीय तहले करोडौं खर्च गरेर खनेका सडक वर्षासँगै भलले बगाएपछि अधिकांश सडक पहिरोमा परिणत भएका छन् । सडक खन्दा पैदलमार्ग समेत मासिएपछि सर्वसाधारणलाई हिँड्न मुस्किल परेको छ । पहाडी भूभाग र भिरालो जमिनमा सडक खन्दा मापदण्ड विना पैदलमार्ग समेत मासिने गरी सडक खनिएका छन् । सडकमा मापदण्ड विपरित घुम्ती र मोड हालिएका छन् । घुम्ती र मोड राख्दा २० मिटर सिधा दुरी देखिने गरी मात्र मोड राख्नुपर्ने डिभिजन सडक कार्यालय बैतडीका प्रमुख शंकर खनालले बताउनुभयो । जनु ठाउँमा घुम्ती हुन्छ, त्यही ठाउँको मोड भिरालो र उकालो बनाउँदा सवारी साधन चल्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सरकारी निर्देशन टेर्दैन डोजरले, रोजगारी खोस्यो

नेपाल सरकारले सडक निर्माण गर्दा एक करोडसम्मका योजनामा डोजर चलाउन नपाईने परिपत्र गरे पनि स्थानीय तहको सरकारले केन्द्र सरकारको निर्देशन पालन गरेका छैनन् । डोजरले रोजगारी खोसेपछि कामको खोजीमा भारत जाने बढिरहेका छन् ।

डोजरले गाउँलेको रोजगारी खोसेपछि दार्चुलाबाट एकै गाउँका ५० जना गाउँले कामको खोजीमा भारतको पिथौरागढ पुगेका छन् । पिथौरागढमा धेरै विकास भईरहेको छ । सडक चौडा बन्दैछन् । आधुनिक भवन ठडिदैंछन् । सिँचाई कुलो बन्दैछ । त्यसैले नेपाली मजदुरले रोजगारी पाएको मजदुर नाईके हरिभान ठगुन्नाले बताउनुभयो ।

डोजरले पहिरो

वि.सं.२०७६ साउन २६ गते पर्यावरणीय अध्ययनविना डोजर चलाएर खनेको सडकमा पहिरो खस्दा बैतडीको सुर्नया गाउँपालिका वडा नं. ८ ढोल्यामा एकै गाउँका पाँच परिवार घर खेत पुरिएपछि विस्थापित भए । विस्थापित परिवारको अहिलेसम्म गाँसबासको ठेगान छैन ।
मकै भित्र्याएर गाँसको जोहो गर्ने तयारीमा रहेका ढोल्याबासीको सपना डोजरले खनेको सडकको पहिरोमा बिलाएका छन् । वर्षभरी छाक टार्ने प्रमुख खेतीका रुपमा रहेको मकै बारी र बस्ने घर पुरिएपछि परिवारको सपना ढलेको पहिरो पीडित धौल सिंह बोहराले बताउनुभयो ।
सडकमाथिबाट खसेको पहिरोले स्थानीय ढोले टोलका अम्मर बोहरा, लालबहादुर बोहरा, महाविर बोहरा, धौल सिंह बोहरा र डम्बर बोहराको घरखेत पहिरोले पुरिएपछि उहाँहरु लालाबालासहित छिमेकीको घरमा अश्रय लिएर बसेका छन् । पहिरोले गाउँ पूरै जोखिममा परेको छ ।
पहाड फोरेर नयाँ खनिएका बाटोमै पहिरो खस्ने गरेको हो । पछिल्लो समय गाउँगाउँमा सडक खन्ने लहर नै चलेको छ । जिल्लामा डोजरको प्रयोगले धर्ती कमजोर भएर भूक्षयको संभावना बढेको विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्थाले बताएका छन् ।

वातावरणमा प्रत्यक्ष र दीर्घकालीन प्रभाव पर्ने यो काम वातावरणीय प्रभाव अध्ययन नगरी भइरहेका छन् । ग्रामीण पहुँचमार्ग, ग्रामीण सडक, कृषि सडक, जडीबुटी पहुँचमार्ग आदिका नाममा बनिरहेका सडक र तिनका आसपासका धेरै ठाउँमा पहिरो खसिरहेको छ । पहिराको कारण व्यक्तिगत घर टहरा, सरकारी संरचना र खेतीयोग्य जमिन जोखिममा छन् । पहिराको प्रकृति हेर्दा त्यो जथाभावी डोजर चलाएके कारण भएको हो भन्ने आधार धेरै देखिने गरेको सडक डिभिजन कार्यालय बैतडीले बताएको छ ।

सडक खन्दा प्रयोग गरिएको डोजरले जथाभावी माटो थुपार्दा भूक्षयको संभावना बढेको स्थानीय बताउँछन् । गत वर्ष सेरा सडकखण्डमा सडक खन्ने क्रममा नहर भत्काइएपछि करिब ८ सय रोपनी धान फल्ने खेत बाँझो रहेको थियो । डोजरले जथाभावी थुपारेको माटोको ढिस्को बग्दा भिरालो जमीनमा खोल्साहरु बनेर भूक्षयको संभावना बढेको स्थानीय बताउँछन् । सडक खन्दा थुपारिएको माटो बगेर खेतमा पुग्दा अन्न उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।

वनमा डोजर


कतिपय क्षेत्रमा सामुदायिक वनमा सडक लैजान थालेपछि वन क्षेत्र समेत विनास हुन थालेको छ । डिभिजन वन कार्यालयमा स्थानीय तहका डोजरले वन मासेको उजुरी आउने गरेको वन अधिकृत केशप्रसाद पराजुलीले बताउनुभयो । पराजुलीले भन्नुभयो, बैतडीको सिगास गाउँपालिकाबाट सामुदायिक वनका पदाधिकारीले गाउँपालिकाले नै वन मासेर सडक लैजान खोजेको पटकपटक उजुरी आएको छ । वन कार्यालयले मात्र चाहेर जथाभावी सडक निर्माण रोक्न नसकिने वन अधिकृत पराजुलीले बताउनुभयो ।

विकास बजेट खर्चेर जिल्लाका स्थानीयतहले आफै डोजर, स्काभेटर खरिद गरी सडक काट्न थालेका छन् । गाउँगाउँ सडक पु¥याउने भन्दै मेसिनले डाडाँकाँडा चिरिएका छन् ।

अधिकांश ग्रामीण सडक डोजर चालकले नै आफ्नो अनुकुल खन्ने गरेका छन् । प्राविधिकको सल्लाह नलिइ उपभोक्ता र ठेकेदारले मनपरी सडक खन्दा जमिन कमजोर बनेको स्वतन्त्र बिचार मञ्चका अध्यक्ष गणेश ठकुराठीले बताउनुभयो । ‘डोजर र स्काभेटरले थर्काएका पहाड धुजाधुजा भएर फाटेका छन,’ उहाँले भन्नुभयोे, ‘पानीको मुहानसमेत सुक्न थालेका छन् । विना अनुगमन जथाभावी डोजरले खन्दा जमिन कमजोर भएको उहाँको भनाइ छ ।

वनको वातावरणीय महत्वलाई ध्यानमा नराखी वन क्षेत्रमा समेत जथाभावी डोजर चलाउने काम भइरहेको छ । वन क्षेत्रमा निर्माणको काम गर्दा डिभिजन वन कार्यालयको सहमति लिनुपर्ने प्रावधानको पालना नभएको डिभिजन वन कार्यालय बैतडीले बताएको छ ।


पानीका मुहान सुके

डोजरले खनेको सडकबाट आएको माटोले खानेपानीको मुहान पुरिएपछि पाटन नगरपालिका ८ रुईसानी गाउँमा पानीको हाहाकार मच्चिएको छ ।

वि.सं. २०७६ असार १० गते परेको मुसलधारे वर्षाले डोजरले खनेको माटो बगाएर खानेपानीको मुहान पुर्दा रुईसानी गाउँ खानेपानीबाट वञ्चित भएको स्थानीय अमर महराले बताउनुभयो ।

डोजरले सडक खन्दा थुप्रिएको माटो पानीले बगाउँदा खानेपानीको मुहानको नाम निशाना मेटिएको महराले बताउनुभयो । मुहान पुरिएपछि पानीको जोहो कसरी गर्ने ? भन्ने विषयमा रुईसानी गाउँका सर्वसाधारण चिन्तित बनेका छन् ।

डोजरकै कारणले दशरथ चन्द नगरपालिका २ देहिमाण्डौंमा पनि खानेपानीका मुहान सुकेको छ । माटोले पुरिएको खोलाको मुहान देखााउँदै स्थानीय युवा सुर्य बोहाराले भन्नुभयो – “ दुई वर्ष अघि कलकल बग्ने भट्टाड खोलाको पानी अहिले सुकेको छ । माछा भेटिने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा भर्खरै निर्माण भएका सडकको रातोमाटो जम्मा भएको छ । ”

जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोलाहरु पुरिएको स्थानीयको भनाई छ । गाउँमा खानेपानीको निकै समस्या हुन थालेपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना बनाउनु पर्ने बाध्यता सिर्जना भएको देहिमाण्डौंबासीले बताएका छन् ।

मेलौली नगरपालिकामा पनि आसपासका खानेपानीमा मुहान सुकेका छन् । पछिल्लो समय पानीका मुहान सुकेपछि पानीको चर्को समस्या झेल्नु परेको स्थानीयबासीले पीडा सुनाएका छन् ।

मेलौली नगरपालिका र बजार क्षेत्रमा पानी आपूर्ति गर्न सुर्नया नदी किनरबाट पानी तान्न तीन करोडको साना सहरी खानेपानी योजना निर्माण हुन लगेको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो ।
सिगास गाउँपालिकामा पनि खानेपानीका मुहान सुक्न थालेका छन् । गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको हाहाकार भएको छ । यहाँ एक जर्किन पानीको एकसय रुपियाँ तिरेर सेवाग्राहीले पानी खानुपर्ने वाध्यता रहेको स्थानीयले बताएका छन् ।
जलवायु परिवर्तन र डोजरले सडक निर्माण गर्दा पानीका मुहान संकटमा परेको डिभिजन खानेपानी कार्यालय बैतडीका डिई प्रकाश रावल बताउनुभयो । डिभिन खानेपानी कार्यालय प्रमुख प्रकाश रावल भन्नुहुन्छ– “ जुन वस्तीका लागि सडक बनाईदैं छ त्यो बस्तीमा सडक पुग्दा पानी सुक्ने गरेको छ । पर्यावरणीय अध्ययन त्यसैले आवश्यक छ भनिएको हो । डोजरले सडक खन्दा जमिन हल्लिायो । पानीका मुलमाथि सडकको माटो थुप्रिदा दबावले मुहान सुक्न थालेका छन् ।”

विभिन्न स्थानीय तहमा पानीका मुहान सुकेपछि डिभिजन खानेपानी कार्यालय बैतडीले दार्चुला र बैतडीमा विभिन्न खोलाबाट १० वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिरहेको जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?