logo
२०८० चैत्र ६ मंगलवार



पर्यटकको रोजाइमा भोर्ले झरना (फोटो फिचर)

पढ्नै पर्ने |
पर्यटन |


पर्यटकको रोजाइमा भोर्ले झरना (फोटो फिचर)
तस्विरः कैलाश लामा / गोरखापत्र


कैलाश लामा

चरिकोट, दोलखा, कात्तिक ४ गते । दोलखाको विगु गाउँपालिका वडा नम्बर –४ स्थित भोर्ले झरनामा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बढ्न थालेको छ ।

जिल्लाको दोलखा–लामाबगर सडक खण्डको भोर्ले स्थित ३० मिटर उचाइको यो झरना आकर्षक र मनोरम रहेसंगै पर्यटकको संख्या बढ्न थालेको हो ।

उत्तरको व्यापारिक केन्द्र सिंगटी बजारबाट ३ किलोमिटरको दुरीमा अवस्थित यो झरना सडक मार्गमै पर्ने र झरनाका पानी सडकमै झर्ने भएकाले पनि पर्यटकहरूको रोजाइमा परेको सिंगटी बजरका हार्डवेयर व्यवसायी नारायण बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक विदाका दिन विशेषगरी युवायुवती यो झरना अवलोकनमा आउने र तस्विर खिचाउने गर्छन् ।

सदरमुकाम चरिकोटबाट ३९ किलोमिटरको दुरीमा रहेको यो झरनाबाट झरेको पानी सिंगटी–लामाबगर सडमा झरेर सिधै तामाकोसी नदीमा मिसिने गर्छ ।

लादुकको खोलाखर्क हुदै बग्ने ठाडो खोलाबाट बनेको यो झरना सिंगटी लामाबगर सडक खन्नुपुर्व भने सिधै तामाकोसी नदीमा झथ्र्यो ।भीर खोपेर बनाइएको सडक र त्यहीँ सडकमा कलात्मक र मनमोहक तरिकाले झर्ने झरनाको दृश्यालोकन गर्न दैनिक थुप्रै पर्यटकहरूको आवतजावत बढेको सिंगटीका होटल व्यवसायी राजकुमार श्रेष्ठ बताउनुहुन्छ ।

सदरमुकाम चिरकोटबाट कालोपत्रे सडक मार्ग हुँदै उत्तरी क्षत्रका मनोरम खोलानाला, गाउँबस्ती आकर्ष, पहाड र गौरीशंकर हिमाल अवलोकन गर्दै झरनासम्म पुग्न सकिने भएकाले पनि पर्यटकहरू झरना हेर्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।

भोर्ले झरना हुँदै २३ किलोमिटरको दुरीमा निर्माणाधीन बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना समेत पुगिने भएकोले पर्यटकहरू झरना हुँदै गोँगर र लामाबगरसम्म पुग्ने गरेका छन् ।
यहीँ मार्ग भएर च्छो–रोल्पा ताल, लप्चे उपत्यका, गौरीशंकर हिमाल र तिब्बतको फलाकसम्म पुगिने भएकाले पनि पर्यटकहरु एकपटक रोकेर झरनासंग खेल्ने र अवलोकन गर्नेगर्छन् ।

विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले पछिल्लो समय भोर्ले झरना अवलोकन गर्ने पर्यटको संख्या बढेको स्विकार्नुभयो । उहाँले पर्यटकलाई झरना अवलोकन मात्रै नभई झरनामा क्यानोइङ खेलको सम्भाव्यता अध्ययन गरि क्यानोइङ सञ्चालन गर्ने गरि अघि बढ्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?