logo
२०८० चैत्र १५ बिहीवार



सर्वाधिक लामो यात्राको यात्रुवाहक उडान सञ्चालन

अन्तर्राष्ट्रिय |


सर्वाधिक लामो यात्राको यात्रुवाहक उडान सञ्चालन


सिड्नी, कात्तिक ३ गते ।
करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ ।
क्वान्टासको फ्लाइट नम्बर क्यूएफ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सिधा उडान गर्ने महत्वाकाँक्षी योजना अघि सारेको छ ।
न्यूयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जना मात्र यात्रु थिए । यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो । क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताउनुभयो । लामो दूरीको यात्रामा जेटल्याग (बिरामी) हुने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ ।
यात्रुहरुले अस्ट्रेलियाली आकाशतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ । क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सिधा उडान शुरु गरेको थियो । यो उडान करिब १७ घण्टाको छ, र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?