logo
२०८० चैत्र १६ शुक्रवार



आकाशे पानीबाट तरकारी खेती ! ३० लाखभन्दा बढी आम्दानी

पढ्नै पर्ने |
अर्थ |


आकाशे पानीबाट तरकारी खेती ! ३० लाखभन्दा बढी आम्दानी


शिवकुमार काशी

हेटौँडा, कात्तिक १ गते । इच्छा शक्ति भयो भने स्वदेशमै पनि आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीका किसानहरुले प्रस्तुत गरेका छन् ।

सिंचाइ सुविधबाट बञ्चित डाँडापाखमा रहेको पाखो बारीमा यहाँका किसानहरुले बेमौसमी तरकारी खेती गरी एक सिजनमा ३० लाख रुपियाँभन्दा बढी आम्दानी गरेका हुन् । आकाशे पानीकै भरमा उनीहरुले आम्दानी लिएका हुन् । रुपाचुरीमा यो सिजनमा सबैभन्दा बढी तरकारी बेच्ने युवा हुनुहुन्छ क्यामुनाका ३० बर्षीय इन्द्रबहादुर थिङ । उहाँले बर्षायामदेखि अहिलेसम्म निरन्तर गोलभेँडा बेचिरहनुभएको छ ।

‘घरबाट दैनिक १०/१२ हजार रुपियाँको गोलभेँडा बेचिरहेको छु’, इन्द्रबहादुर भन्नुहुन्छ–‘सिजन सकिँदा ५ लाखभन्दा बढीको आम्दानी लिने अनुमान गरेको छु ।’ पाखोबारीमा स–साना टनेलहरु बनाएर उहाँले गोलभेँडा खेती गर्नु भएको हो । उत्पादित तरकारी नजिकैको मनहरी बजारमा दैनिक बोकेरै ल्याएर किसानहरुले तरकारी पसलहरुमा पु¥याउने गर्छन् । भदाँैदेखि बेच्न सुरु गरिएको गोलभेँडा तिहारसम्मलाई पुग्ने इन्द्रबहादुरले बताउनुभयो ।

रुपाचुरीकै अर्का किसान हुन् ५० बर्षीय भुपाल लो । उहाँले पनि अहिले निरन्तर गोलभेँडा उत्पादन गरी दैनिक बिक्री गरिरहनु भएको छ । चिसो ठाउँ भएकाले आकाशे पानीकै भरमा बेमौसमी गोलभेँडा उत्पादन गर्ने सीप सिक्नु भएका लोले यसबर्ष २ लाख रुपियाँ आम्दानी गरिसक्नु भएको छ । बजारसम्म तरकारी ढुवानीका लागि भने सँधै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

‘यहाँबाट प्रतिकिलो १० रुपियाँका दरले ढुवानी ज्याला तिराएर भरियामार्फत बजार पु¥याउनुपर्ने बाध्यता हामीलाई छ’, भूपाल भन्नुहुन्छ–‘ढुवानीका लागि बाटोको अभावले हामीहरुको लगानी बढ्दो क्रममा छ ।’ आकाशे पानीकै भरमा पनि गाउँमा एक सिजनमा ३० लाखभन्दा बढी आम्दानी गरिएको अगुवा किसान भुपालले बताउनुभयो ।

मनहरी गाउँपालिका वडा नं ६ को रुपाचुरी, पोलाघारी, क्यामुना लगायत गाउँहरुमा निरन्तर बेमौसमी व्यवसायिक तरकारी उत्पादन भइरहेको छ । यस क्षेत्रमा उत्पादन हुने तरकारीमा विषादी समेत प्रयोग नहुने अगुवा किसान भूपाल बताउनुहुन्छ ।

भूपाल र इन्द्रबहादुर जस्तै गाउँका १५ जना किसानले व्यवसायिक रुपमा तरकारी खेती गरिरहनु भएको छ । तर, उहाँहरुका लागि सिंचाई सुविधा सहित कृषि सम्बन्धी तालिम, कृषि उपकरण आवश्यक रहेको सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरिरहेको गाउँबेसी कृषि सहकारी संस्थाका अध्यक्ष नवीन सुवेदीले बताउनुभयो । कार्यक्रम अन्तर्गत रुपाचुरीमा तरकारी संकलन केन्द्र निर्माणाधीन रहेको र तरकारी ढुवानीको व्यवस्थापनमा पनि सहकारीले पहल गरिरहेको उहाँले बताउनुभयो ।

मनहरी गाउँपालिकाले मनहरी–रुपाचुरी सडक खण्डका लागि चालू आर्थिक बर्षमा २५ लाख रुपियाँ सम्पूर्ण बजेटको रुपमा बिनियोजन गरिएको र संघीय सरकारसँगको साझेदारीमा सडक स्तरीकरणमा हुने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?