माहुरीसँग रमाउँदै युवा

अर्थ |


2019-10-10-2460


रुकुमपूर्व, असोज २३ गते । देशमा रोजगार छैन भन्दै दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशी हानिरहेका छन् । आफ्नै गाउँघरमा परिश्रम गरेर कमाउनु अनि रमाउनुको साटो अहिले युवाको वैदेशिक रोजगारप्रति आकर्षण बढ्दै गएको छ । तर रुकुम ९पूर्व० का केही युवा भने गाउँमै परिश्रम गरेर आफ्नो छुट्टै खालको पहिचान बनाउन सफल भएका छन् ।

यतिबेला सिस्ने गाउँपालिका वडा नं ३ का ओमप्रकाश खड्कालाई आफूले पालेका माहुरी स्याहार्न ठिक्कै छ । माहुरीलाई आहारा खुवाउने, माहुरीको घार सफा गर्ने लगायतका काममा व्यस्त भएपछि उहाँ आजभोलि साथीभाइसँग गफमा भुल्ने र पसलतिर चिया पिउनसमेत निस्कन पाउनु हँुदैन । उहाँ आफ्नो काममा निकै व्यस्त देखिनुहुन्छ ।

उहाँको घरमा १०० वटा माहुरीका घार छन् । उहाँको घरमा भएका माहुरीको घारको सङ्ख्या दैनिक फेरबदल भइरहन्छ । किनभने उहाँले मह मात्र होइन, माहुरी पनि बेच्ने गर्नुहुन्छ । माहुरी र घार बेचेर मनग्य आम्दानी गर्न सफल ओमप्रकाश गाउँमै सबैभन्दा बढी माहुरीपालक कृषकका रुपमा चिनिनुभएको छ । उहाँले मह र माहुरी बेचेर वार्षिक रु १० लाख आम्दानी गर्ने गरेको बताउनुभयो ।

नेपालमा बसेर केही गर्न सकिँदैन भन्दै पैसा कमाउन विदेश जानेका लागि उहाँले नेपालमै परिश्रम गरेर मनग्य आम्दानी गरी उदाहरण बन्नुभएको छ । उहाँले एक जनालाई माहुरी हेरचाहका लागि राखेर रोजगार दिनुभएको छ ।

हरेक वर्ष कात्तिक र मङ्सिरमा घारबाट मह निकालिन्छ । मह बेचेर वार्षिकरुपमा रु पाँच÷छ लाख आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । मह मात्र नभई उहाँले माहुरी बेचेर आम्दानी गर्दै आउनुभएको छ । घार बेचेर वर्षमा रु पाँच लाख माथि आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।

“माहुरीसँगको घार आठ हजारदेखि १० हजारसम्ममा बिक्री हुने गरेका छन्”, उहाँले भन्नुभयो, “विदेशी माटो आफ्नो पसिनाले सिञ्चित गर्नुभन्दा स्वतन्त्ररुपले परीवारसँगै रमाउँदै काम गर्नुको मज्जा बेग्लै छ ।” विदेश जाने कतिपय युवालाई उहाँले आफ्नो कामको प्रभावमा पारिसक्नुभएको छ ।

त्यसैगरी सोही ठाउँका अर्का ओमप्रकाश खड्का माहुरीपालन व्यवसायमै रमाउँदै आउनुभएको छ । उहाँसँग अहिले ६० घार छन् । भर्खरै वर्षाको मौसम सकिएको हुनाले माहुरी आफैँले आफ्नो खाना जुटाउन थालेको उहाँले बताउनुभयो । वर्षापछिको समय माहुरीले मह लगाउने मौसम भएको ओमप्रकाशले बताउनुभयो ।

उहाँले गत वर्ष माहुरी र मह बेचेर रु सात लाख ५० हजार आम्दानी गरेको बताउनुभयो । “माहुरीको परिश्रम अगाडि हामीले गरेको यो परिश्रम त केही पनि होइन”, उहाँले भन्नुभयो, “देशमा रोजगार छैन भन्दै विदेशमा गएर पसिना बगाउनुभन्दा आफँै स्वदेशमा रोजगारीको अवसर सीर्जना गर्नतिर लाग्नुपर्छ ।” माहुरीबाट गरेको आम्दानीले नै घरखर्च टर्ने गरेको उहाँले बताउनुभयो ।

माहुरीको पकेट क्षेत्र घोषणा गरिएको सिस्ने– ३ का अधिकांश घरमा माहुरीका घार छन् । पकेट क्षेत्र घोषणा भएसँगै वडा नं ३ मा ‘एक घर एक माहुरी’ लागू भएको छ । माहुरीपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको स्थानीयवासी बताउँछन् ।

त्यहाँका मानिसले आफूले पालेका माहुरीलाई असार १५ देखि माघ १५ सम्म घरमा र फागुनदेखि जेठको महीनासम्म चिउरी जङ्लमा लगेर छोड्ने गर्दछन् । अरुबेला घरमा राख्ने माहुरीलाई जङ्गलमा चिउरी फुल्न शुरु गरेसँगै आफूलाई सुरक्षित लाग्ने ठाउँ छनोट गरी चरनको लागि जङ्लमा लैजाने गरेको अर्का माहुरीपालक कृषक लीलबहादुर खड्काले बताउनुभयो ।

धेरथोर माहुरी पालिरहेका सिस्ने गाउँपालिकाले वडा नं ३ पोखरालाई माहुरीको पकेट क्षेत्र घोषणा गरेपछि निकै उत्साहित भएका छन् । आफ्नो व्यवसायमा सरकारले सहयोग गर्ने भएपछि पोखराबासीहरु माहुरीपालन व्यवसायतिर आकर्षित हुँदै एक घर एक माहुरीको अवधारणालाई अङ्गालेका छन् ।

एकातिर माहुरीपालन व्यवसायतिर मानिस आकर्षित हुँदै गएका छन् भने अर्कोतिर माहुरीको चरन क्षेत्र विस्तारै मासिँदै गएको छ । मानिसका विभिन्न क्रियाकलापले गर्दा अहिले माहुरीको चरनक्षेत्र मासिँदै गएको स्थानीयवासीले बताएका छन् । माहुरीको मुख्य चरन क्षेत्र भनेको पुष्पखेती हो । माहुरीको मुख्य आहारा मानिने तोरी कतै देखिँदैन । मानिसले तोरीखेती गर्न छोडिसकेका छन् ।

जथाभावीरुपमा विषादीको प्रयोग गरिरहेका छन् । जलवायु परिवर्तनको असर परिरहेको छ । त्यस क्षेत्रमा घर बनाउनका लागि मुख्य काठका रुपमा चिउरीको काठ प्रयोग गर्ने भएकाले चिउरीको जङ्गल फँडानी बढिरहेको छ । मानिसका यिनै क्रियाकलापले गर्दा माहुरीपालन व्यवसायमा समस्या उत्पन्न हुने जनता मावि पोखराका प्रधानाध्याप कलु खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मान्छेका यस्ता खालका गतिविधि नरोकिने हो भने माहुरीलाई चाहिने आवश्यक रसको कमी हुने र माहुरीपालन व्यवसाय सङ्कटमा पर्न जाने छ ।” त्यसैले यहाँका मानिसले पुष्प व्यवसायलाई विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

माहुरीपालनका लागि सिस्ने गाउँपालिकाले माहुरी व्यावसायिक, कृषि सहकारी तथा कृषि फार्मलाई अनुदान दिएको छ । गाउँपालिकाले यस वर्षलाई माहुरी प्रवद्र्धन वर्षका रुपमा मनाउने तयारी गरेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

त्यसैगरी यसै वर्षमा गाउँपालिका र प्रदेश नं ५ सरकारले संयुक्तरुपमा माहुरी कृषकलाई अनुदानका लागि रु २५ लाख बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?