logo
२०८१ बैशाख १३ बिहीवार



कृषि उपजले पाएन बजार

अर्थ |


कृषि उपजले पाएन बजार



युवराज विष्ट

भोजपुर, असोज २३ गते । उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भएपछि कृषक मारमा परेका छन् । भोजपुर नगरपालिका –११ आम्तेकको खोक्तीबासीमा स्थानीय युवाले करीब रु एक करोड लागतमा फर्म दर्ता गरी व्यवसाय सञ्चालन गरे पनि उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको छ ।
कृषिलाई व्यवसायीकरण गरेर राम्रो आम्दानी लिने उद्देश्यका साथ नमूना बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म दर्ता गरेर तीन युवाले २०७४ सालमा व्यावसायिक रुपमा कृषि, पशुपालन मस्यपालन व्यवसाय गरिरहेका छन् । उनीहरुको फर्ममा अहिले ब्रोइलर, लेयर्स, बट्टाई र स्थानीय गरी दुई हजार पाँच सय कुखुरा, एक सय खसीबाख्रा, ५० सुँगुर र दुई पोखरीमा आठ हजार माछा छन् ।
त्यस्तै टमाटर, अकबरे खुर्सानी, बहुवर्षे बालीमा एभोकाड, सुन्तला, कागतीलगायत बाली गरी करीब एक सय रोपनी क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुले विदेशप्रतिको मोह त्यागेर जिल्लाकै नमूना फर्म बनाउने लक्ष्यका साथ व्यवसाय सञ्चालन गरेका हुन् । बजारीकरणमा निकै समस्या रहेको उनीहरुको भनाइ छ । फर्मका सञ्चालक देवेन्द्र खड्काले भन्नुभयो, ‘‘ निकै ठूलो लगानीमा हामीले फर्म दर्ता गरेर चलाएका छौ, यहाँबाट तरकारीदेखि सबै खालका कृषि उपज उत्पादन भइरहेका छन् तर अहिले हामीलाई बजारीकरणमा अत्यन्तै समस्या छ ।’’
ठूलो लगानीमा व्यवसायमा लागेका उनीहरुले राज्यलाई केही टेवा दिने सोचका साथ काम गरिरहेका छन् । फर्ममा स्थानीयवासी रमेश सुवेदी, अङ्कित खत्री र देवेन्द्र खड्काले साझेदारीमा काम गरिहेका हुन् । फर्मबाट अहिले प्रत्यक्ष रुपमा पाँच जनाले रोजगारीसमेत पाएका छन् । उनीहरुले आफूले सिकेको ज्ञान जिल्लाका अन्य कृषकमा पनि बाँड्दै आएका छन् । उनीहरुको अगुवाइमा सो टोलीले अहिले ११ फर्म दर्ता गरेर कामको थालनी गरिरहेको छ । उनीहरुले कृषिमा लाग्न इच्छा गर्ने अन्य कृषक समूहलाई कानूनी प्रक्रियाका विषयमा जानकारी दिने गरेका छन् । फर्मका अर्का सञ्चालक खत्रीले भन्नुभयो,‘‘ हामीले राज्यलाई टेवा दिने उद्देश्यले धेरै जनालाई रोजगारी दिएका छौँ, हाम्रो फर्मलाई देखेर अहिले यो खोक्तीबासी टोलमा ११ ओटा फर्म दर्ता भएका छन्, कृषिमा लाग्ने साथीहरुलाई आफूले जानेका सिकेका कुराहरु बाँड्दै आएका छौँ ।’’
उनीहरुको सिको गर्दै सोही आसपासमा अभियान, कृषि फर्म, परिवर्तन कृषि फर्म, मिशन लादेन कृषि फर्म गरी ११ फर्म दर्ता भएर काम शुरु भएको छ । यसले उनीहरुलाई कृषिमा लाग्ने मोह बढेको छ । परिवर्तन कृषि फर्मका सञ्चालक परशुराम बुढाथोकीले भन्नुभयो,‘‘ सात वर्ष विदेशमा बसेँ तर सोचे जस्तो आम्दानी गर्न सकिएन, अहिले साथीहरुले फर्म दर्ता गरेर व्यवसाय शुरु गरेको देखेपछि म पनि कृषिमा लागेको छु, यसअघि विदेशमा कमाएको भन्दा राम्रो आम्दानी छ तर बजारीकरणमा भने समस्या छ । ’’
कृषकले सो क्षेत्रमा कृषि पर्यटक भित्र्याउनका लागि घरबास कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् । आफ्नो टोललाई नै कृषिको नमूना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्यले खास सहयोग नगरेको उनीहरुको भनाइ छ । उनीहरुले उत्पादित वस्तुको बजारीकरणमा राज्यले सहयोग गर्नुपर्ने र कृषकले गरेको काम अवलोकन गरेर आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?