logo
२०८० चैत्र १६ शुक्रवार



विप्लव समूहले लुकाएको ठूलो परिमाणको विष्फोटक बरामद

पढ्नै पर्ने |
खुला |


विप्लव समूहले लुकाएको ठूलो परिमाणको विष्फोटक बरामद


विष्णुप्रसाद पोखरेल
दमक, असोज १३ गते । विप्लव समूहले खाल्डो खनेर लुकाएको अवस्थामा प्रहरीले आइतवार राती ठुलो परिमाणमा विष्फोटजन्य पदार्थ फेला पारेको छ । झापाको अर्जुनधारा नगरपालिकामा एक किसानको खेतमा चियाखेतीमा लगाउने बिषादी भन्दै गाडेको चिज विस्फोटक पदार्थ तथा शक्तिशाली बम बनाउन प्रयोग गर्ने सामाग्रमी भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दीनेशराज मैनालीले बताउनुभयो ।
जिल्लाका बिभिन्न स्थानमा वम पड्काएको आरोपमा झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र सहित वम बनाउने प्राविधिक समेत पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा अर्जुनधारा नगरपालिका वडा नंं १ स्थित सिस्ने भन्ने स्थानमा विष्फोटक पदार्थ लुकाई छिपाई भण्डारण गरी राखेको सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा खाल्डोमा पुरेको अवस्थामा फेला पारिएको पनि मैनालीले जनाउनुभयो ।
विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु जुटको वोरामा लुकाई छिपाई भण्डारण गरी राखेको अवस्थामा फेला पारी चेक जाँच गर्दा निओजेल ९० लेखिएको उच्च क्षमताको विस्फोटक पदार्थ भएको खुलेको मैनालीले बताउनु भयो । करिब २५ केजी (२०५ लोला) रहेको पनि उहाँले बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार चियाको वोटमा हाल्ने औषधी हो भनी एक महिना अगाडि उक्त स्थानमा ल्याई लुकाई छिपाई भण्डारण गरी राखेको खुलेको छ । स्थानीयले उनिहरू पक्राउ परेको थाहा पाएर प्रशासनमा यस बिषयमा जानकारी गराएकाले खोजतलास गर्न सहज भएको पनि प्रहरी भनाइ छ । जिल्लाभरका स्थानीय तह तथा सार्वजनिक महत्वका स्थानमा वम पड्काएर आंतक मच्चाउने योजना अनुसार विस्फोटक पदार्थ ल्याएको अनुसन्धानबाट खुलेको छ,श्रेष्ठले भन्नुभयो ।
प्रहरी स्रोतका अनुसार उनिहरुले दुइ बोरा विस्फोटक पदार्थ ल्याएर एकबोरा लुकाएको र एकबोरा प्रयोग गरेका थिए । जिल्लाका बिभिन्न ठाँउमा एनसेल टावरमा विस्फोट, बिर्तामोडमा वार्डकार्यालयमा विस्फोट, बिर्तामोडका साहारा सहकारी संस्थामा विस्फोटक, गौरादहमा कार्यकारी अधिकृतको गाडिमा विस्फोट, झापाको अर्जुनधारा र दमकमा वम राख्ने कार्य त्यसबाट भएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ ।
प्रहरीले भदौ ३० गते यि घटनामा संलग्न रहेको आरोपमा विप्लव समुहको जनसरकार प्रमुख बताउने टीका पोखरेल, जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र र विस्फोटक पदार्थ तथा वम बनाउने प्राविधिक अनुल सारु मगरलाई पक्राउ गरेको थियो । उनिहरुलाई विर्तामोड नगरपालिका वडा नं. ४ स्थित डेरामा लुकाई छिपाई राखेको अवस्थामा अवैध हतियार दुई थान, त्यसमा प्रयोग हुने गोली चार राउण्ड र विभिन्न दस्तावेज तथा आर्थिक सहयोग सम्बन्धी पत्रहरु, माइन्युट बुकहरु, डायरीहरु, रसिदहरु सहित पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनु्सार हातहतियार खरखजाना, बिष्फोटक पदार्थ, राज्य बिरुद्धको कसूर, जवरजस्ती चन्दा असुली र संगठित अपराध अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडवाट झापा जिल्ला अदालतवाट म्याद थप गरी उनिहरुको संलग्नताको बिषयमा अनुसन्धान भइरहेको सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?