logo
२०८१ बैशाख ११ मंगलवार



बुधबारदेखि २६ सहरमा फोरजी

मुख्य समाचार |
पढ्नै पर्ने |


बुधबारदेखि २६ सहरमा फोरजी


विश्वास रेग्मी

काठमाडौँ, असोज १३ गते । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । ‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उहाँले भन्नुभयो, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्छौं ।
’ टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दै छ । मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ । त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिनुभयो । पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उहाँले बताउनुभयो ।
‘हरेक घण्टामा एउटा नयाँ बीटीएस स्थापना भइरहेको हुन्छ’ उहाँले भन्नुभयो ‘बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ ।’ टेलिकमले फोरजी सेवा सुरु गर्न लागेका ठाउँमा आफ्ना प्राविधिक खटाइसकेको छ । बुधबारसम्म पनि ड्राइभ टेस्टलगायतका काम भने जारी हुने छन् । फोरजीको परीक्षण सञ्चालन गर्दा अधिकतम २४५ एमबीसम्मको गतिमा इन्टरनेट चलेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । सेवा सुरु हुन लागेका सबै ठाउँमा फोरजीका लागि आवश्यक यू सीमकार्डको पनि व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । पुराना सिमकार्ड प्रयोगकर्ताले यस्तो सिमकार्ड निःशुल्क साटफेर गर्न सक्ने छन्
। ग्राहकले *४४४# डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ । टेलिकमले गत माघ २० गते देशैभर फोरजी विस्तार गर्ने परियोजनाका लागि अन्तिम सम्झौता गरेको थियो । उक्त सम्झौतामा एक वर्षभित्रमा लक्ष्यअनुसार फोरजी विस्तार गर्ने उल्लेख थियो । फोरजी विस्तारका लागि टेलिकमले करिब १९ अर्ब रुपियाँ लगानी गर्दै छ । टेलिकमले यो परियोजनाबाट ६५ लाख फोरजी ग्राहक थप गर्न सक्छ । हाल कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थतामार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ । नेपालमै पहिलो पटक २०७३ साल पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीका यी दुईवटा सहरमा गरी अहिलेसम्म आठ लाख फोरजी ग्राहक छन् ।
कम्पनीले हाल आठ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत नयाँ स्थानमा फोरजी विस्तार गरिरहेको हो । दुईवटै ब्यान्डमा रहेको २० मेगाहर्ज फ्रिक्वेन्सीलाई एकीकृत गरी फोरजी सेवा उपलब्ध गराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । अर्थात् दुवै ब्यान्डमा फोरजी सेवा प्रयोग गर्न सक्ने सुविधा रहेका मोबाइल प्रयोगकर्ताले यसबाट लाभ लिन सक्ने छन् । फोरजी सेवा विस्तारबाट ग्राहकले भीओएलटीई सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

चाडपर्वमा टेलिकमको बोनस

दशैँलाई लक्षित गरेर टेलिकमले रिचार्जमा ग्राहकलाई बोनस उपलब्ध गराउने भएको छ । कम्पनीले यही असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज कार्ड अथवा एमपोसमार्फत रिचार्ज गर्दा यस्तो सुविधा उपलब्ध गराएको हो । रिचार्ज कार्डबाट दुई सय रुपियाँसम्म रिचार्ज गर्दा १० प्रतिशत र पाँच सयदेखि एक हजार रुपियाँसम्म रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ । यस्तो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नयाँ फोरजी ग्राहकलाई दुई दिनको अवधिसम्म प्रयोग गर्न मिल्ने दुई सय एमबी डेटा बोनसका रूपमा उपलब्ध गराउने भएको छ । पोस्टपेड ग्राहकलाई निःशुल्क मिस्ड कल अलर्ट र प्रिपेड ग्राहकलाई छठसम्म सोही किसिमको सुविधा कम्पनीले उपलब्ध गराउने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?