logo
२०८१ बैशाख १३ बिहीवार



कर्णालीका विद्यालयमा डिजिटल पुस्तकालय अभियान

शिक्षा |


कर्णालीका विद्यालयमा डिजिटल पुस्तकालय अभियान


ललित बसेल

सुर्खेत, असोज ६ गते । कर्णाली प्रदेशका विद्यालयहरुमा डिजिटल पुस्तकालय स्थापना गर्न लागिएको छ । प्रदेशका १० वटै जिल्लाका सामुदायिक विद्यालयहरुमा एक विद्यालय एक डिजिटल पुस्तकालय स्थापना गर्न सोमबारदेखि सुरु गरिएको छ ।

भौगोलिक विकटता तथा प्रविधिमा पछाडि परेको प्रदेशमा रहेका बालबालिकालाई प्रविधियुक्त शिक्षा प्रदान गर्नका लागि पिडी स्मार्ट एजुकेशनलले यहाँका एक विद्यालय एक डिजिटल पुस्तकालय स्थापनाको अभियान थालेको हो । यो अभियान विज्ञान विषय र व्यवस्थापन विषय अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि उपयोगी रहेको अभियानका अध्यक्ष गणेश जोशीले बताउनुभयो ।

डिजिटल पुस्तकालयका लागि विद्यालयले स्मार्ट एजुकेशनलाई १० हजार रुपियाँ तिर्नुपर्ने छ । व्यक्तिगत सेवा लिनका लागि दुई हजार रकम तिर्नुपर्नेछ । पुस्तकालयका लागि रकम तिरेपछि विद्यार्थीहरुले घरमा बसेर अध्ययन गर्न पाउनेछन् । रकम जम्मा हुनेवित्तिकै विद्यार्थीहरुलाई पासवर्ड दिइने र त्यसको माध्यममार्फत विद्यार्थीहरुले आफ्नो आवश्यकता अनुसार विषयको अध्ययन गर्न पाउने अध्यक्ष जोशीले बताउनुभयो ।

डिजिटल पुस्तकालय अनलाइन तथा अफलाइन दुवै माध्यमले प्रयोग गर्न सकिने भएकाले कर्णालीका दुर्गम जिल्लामापनि प्रभावकारी बन्ने उहाँको भनाई छ । यसको प्रयोग मोवाइल तथा कम्प्यूटरको माध्यमबाट गर्न सकिने छ । यो अभियान कर्णालीका लागि आवश्यक रहेको भन्दै अध्यक्ष जोशीले अन्य प्रदेशको भन्दा कर्णालीको शैक्षिक अवस्था कमजोर देखिएकाले पनि पहिलो प्राथमिकता यस प्रदेशलाई दिएको उल्लेख गर्नुभयो ।

प्रविधियुक्त र वैज्ञानिक शिक्षा आजको आवश्यकता भएको भन्दै त्यो आवश्यकतालाई यस अभियानले पुरा गर्ने शिक्षा क्याम्पस सुर्खेत शिक्षा संकायका प्राध्यापक लक्ष्मीप्रसाद आर्चाले बताउनुभयो । प्रविधिको प्रयोग गरी सिकेका कुरा दिगो र प्रभावकारी हुने भएकाले विद्यार्थीलाई सिकाइमा पनि सहज हुने दावी उहाँको छ ।

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका तर्फबाट यो अभियानका लागि प्रदेश सरकारले आगामी आथिक वर्षमा वजेट विनियोज गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेशमा रहेका विद्यालयलाइ प्रविधिमा जोड्नका लागि एक निर्वाचन क्षेत्र, एक डिजिटल विद्यालय कार्यक्रम सरकारले ल्याएको भन्दै यस कार्यक्रमले थप सहयोग पुग्ने उहाँको भनाई छ ।

यो अभियानले प्रदेशको डिजिटल विद्यालयसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिदैं मन्त्री बुढाले त्यसका लागि सम्बन्धित विद्यालय तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्न सके प्रभावकारी बन्न सक्ने बताउनुभयो । प्रविधिसंग प्रदेशका विद्यालयलाई जोड्न सकेको खण्डमा आगामी दिनमा उच्च शिक्षाका लागि केन्द्र राजधानी धाउन पर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । अभियान कक्षा ११ र १२ का विद्यार्थीहरुका उपयोगी हुनेछ । अभियान सह्रानीय भएको भन्दै मन्त्री बुढाले प्रदेशमा आएको वजेटलाई फ्रिज हुन नदिई शैक्षिक क्षेत्रमा लगानी गर्न पनि आव्हान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?