logo
२०८१ बैशाख १२ बुधवार



केबलकार नचल्दा ३७ यात्रु थुनिए

मुख्य समाचार |


केबलकार नचल्दा ३७ यात्रु थुनिए


काठमाडौँ, चैत १७ गते । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए ।
मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको छ । केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुलेन्ससहित डाक्टर, नर्ससहितको टोली उद्धारका लागि केबलकार स्टेसन पुगेको थियो ।

त्यति मात्र होइन सम्भावित दुर्घटना हुन नदिन तथा यात्रुको सकुशल उद्धारका लागि जिल्ला दैवीप्रकोप तथा उद्धार समितिको प्राविधिक सहितको टोली पनि तयारी अवस्थामा राखिएको थियो । केबलकारमा प्राविधिक समस्या आएको भनिए पनि विद्युत् प्रवाह नै बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवाह गर्ने जेनेरेटरमार्फत केबलकार सञ्चालन गर्ने प्रयास पनि सफल भएन ।

पटक पटकको प्रयास सफल हुन नसकेपछि कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबल (केबलकार तलमाथि गर्ने लाठो)लाई घुमाएर डेढ घण्टापछि यात्रुको उद्धार गरिएको थियो । माथिल्लो भागमा रहेका यात्रुलाई चन्द्रागिरि मन्दिरतर्फबाट र बीचमा अड्किएका ३७ जना यात्रुलाई थानकोटतर्फको स्टेसनबाट उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

चन्द्रागिरि हिल्स प्रालिले भने विद्युत् प्रवाहमा गडबडी हँुदा केहीबेर केबलकार रोकिएको भन्दै घटना सामान्य रहेको दाबी गरेको छ । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले विद्युतीय स्विचमा समस्या आएको र केही बेरमै सो समस्या समाधान भएको बताउनुभयो । विद्युत् प्रवाह बन्द भएपछि केहीबेर मात्र केबलकार बन्द भएको र म्यानुअल जेनेरेटर सञ्चालन गरी यात्रुलाई सुरक्षित रूपमा स्टेसनसम्म पु-याइएको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणबाट हुने विद्युत् आपूर्तिमा समस्या आएका कारण सामान्य घटना भएको उहाँले उल्लेख गर्नुभयो । प्राधिकरणले भने मङ्गलबार केबलकार सञ्चालन हुने चन्द्रागिरि आसपासका क्षेत्रमा नियमित विद्युत् प्रवाह भएको जनाएको छ । प्राधिकरण कुलेश्वर वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले प्राधिकरणका तर्फबाट कुनै पनि त्रुटि नभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?