logo
२०८१ बैशाख ८ शनिवार



केशरमहलमा व्यापारिक गतिविधि हुँदैन

मुख्य समाचार |


केशरमहलमा व्यापारिक गतिविधि हुँदैन


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुनर्निर्माणपछि केशरमहलमा कुनै पनि व्यापारिक गतिविधि सञ्चालन नहुने र पूर्ववत् पुस्तकालय सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनुभएको छ । केशरमहलमा व्यापारिक प्रयोजनका लागि निजी क्षेत्रलाई प्रवेश गराउने समाचार मङ्गलबारको गोरखापत्रमा प्रकाशित भएपछि उहाँले त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

यस्तो गम्भीर विषयमा आफूहरूको ध्यानाकर्षण भएको भन्दै उहाँले केशरमहल शिक्षा मन्त्रालयको सम्पत्ति भएकाले जुनसुकै गिरोह लागे पनि त्यसलाई व्यापारिक प्रयोजनका लागि प्रयोग हुन नदिने स्पष्ट गर्नुभयो । “त्यहाँ केशर पुस्तकालय रहन्छ” उहाँले थप्नुभयो– “पुनर्निर्माण कार्य भइरहेको छ । सो पूरा भइसकेपछि शैक्षिक सङ्ग्रहालयलगायतका कार्यमा भवनको उपयोग गरिनेछ । बरु के कस्ता कार्यमा उपयोग गर्दा हुन्छ भन्ने सुझाव सबैसँग अपेक्षा गरेका छौँ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्षअघि केशरमहलको पुनर्निर्माणपछि त्यसको प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । सो कार्यदलले व्यापारिक प्रयोजनमा लगाउन सकिने प्रतिवेदन तयार गरी गत साता शिक्षा मन्त्रालयका उच्च पदाधिकारीलाई ‘ब्रिफिङ’ गरेको थियो । स्वप्न बगैँचा विकास समितिले गराएको ‘ब्रिफिङ’ सुनेपछि पदाधिकारीहरूले मस्यौदाप्रति आपत्ति जनाउँदै यस कार्यलाई रोक्न भनेका थिए ।

स्वप्न बगैँचा विकास समितिलाई केशरमहल विकास समितिका रूपमा विकास गर्ने र त्यहाँ पर्यटन क्षेत्रसम्बन्धी व्यवसायका नाममा व्यापार गर्ने योजना थियो । स्वप्न बगैँचा विकास समिति गठन आदेशविपरीत त्यहाँका अधिकृतलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको छ । गठन आदेशमा मन्त्रालयका उपसचिव रहने व्यवस्था छ ।

उपसचिवलाई पठाउँदा निजी क्षेत्रलाई प्रवेश गराउने लगायतका योजना अगाडि बढ्न नदिन विकास समितिका सदस्यहरूको पहुँचका कारण निमित्तलाई जिम्मेवारी दिइएको खुल्न आएको छ । शिक्षामन्त्री पौडेलले यसबारे आफूले अब विस्तृत अध्ययन गरी अगाडि बढ्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?