logo
२०८१ बैशाख ८ शनिवार



राष्ट्रिय सभा सदस्य निर्वाचन आज

रिक्त १९ पदमा ४३ उम्मेदवारको प्रतिस्पर्धा मतदानलगत्तै गणना

मुख्य समाचार |


राष्ट्रिय सभा सदस्य निर्वाचन आज


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशको राजधानीमा बुधबार मतदान हुँदैछ । मतदानका लागि आठ मतदान स्थल र १४ मतदान केन्द्र तयार गरिएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा मतदानका लागि बुथ निर्माण भइसकेकाले बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएको केहीबेरमै मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिनुुभयो । बुधबार अबेरसम्म सातै प्रदेशको परिणाम आउने गरी मतगणना गर्ने तयारी छ । उहाँले भन्नुभयो–“मतदानपछि मतगणना निर्देशिकाबारे राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारलाई जानकारी गराइनेछ, लगत्तै गणना कार्य सुरु हुनेछ ।”

प्रत्येक मतदान केन्द्रमा १० जना कर्मचारी नियुक्त गरिएका छन् । राष्ट्रिय सभाको रिक्त रहेको १९ पद छ वर्षे कार्यकालका लागि मतदानबाट चयन हुनेछ । निर्वाचनमा कुल ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभा सदस्यका लागि हरियो तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि रातो रङ्गको मतपत्रको व्यवस्था गरिएको छ । प्रदेशअनुसार उम्मेदवार र दल फरक रहेकाले सबै प्रदेशका मतपत्र अलग–अलग छन् । प्रदेशमा रिक्त रहेको क्लस्टरबमोजिम मतपत्रको सङ्ख्यासमेत फरक रहनेछ । प्रदेश १ मा तीन पदका लागि निर्वाचन हुने हुँदा प्रत्येक मतदाताले तीनवटा मतपत्र पाउनु हुनेछ ।

निर्वाचन आयोगले कोभिड–१९ को बढ्दो जोखिमका बीच मतदान र मतगणनाका लागि स्वास्थ्य निर्देशिका नै जारी गरेको छ । प्रवक्ता पौडेलले सबै मतदातालाई निर्देशिकाको पालना गरी आफू र अन्य मतदातालाई सुरक्षित रहने गरी मतदान गर्न अपिल गर्नुभएको छ । निर्देशिका बमोजिम मतदाताले पहिचान खुल्ने परिचय पत्र र कोभिड–१९ विरुद्धको दुवै खोप लिएको कार्ड देखाएपछि मात्रै मतदान स्थलमा प्रवेश दिइने आयोगले जनाएको छ । उहाँका अनुसार कोभिड–१९ विरुद्धको खोप नलगाएका मतदाताले कोभिड पोजेटिभ भएको रिपोर्ट वा ४८ घण्टाभित्र पीसीआर गरिएको निगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

कुनै जटिलता आए मतदानबाट वञ्चित नहुने गरी सम्बन्धित निर्वाचन अधिकृतलाई निर्णय लिने अधिकार दिइएको छ । सातवटै प्रदेशमा कुल दुई हजार २५ मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनुहुन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?