logo
२०८१ बैशाख ६ बिहीवार



भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह

स्वास्थ्य |


भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह


काठमाडौँ, माघ ९ गते । चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ ।आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गने काठमाडौँ उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको बताएको छ ।    
     
केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।    
    
परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिएको आयोगले जनाएको छ ।    
    
आयोगले प्रश्नपत्रको गोपनीयता र व्यवस्थापनमा सुरक्षा मापदण्ड पूर्णरूमा पालना गरिएको उल्लेख गर्दै भोलि माघ १० गतेको परीक्षा पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने जानकारी गराएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?