logo
२०८१ बैशाख ८ शनिवार

  २१ औं सशस्त्र प्रहरी दिवस  



विपद् र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय छ : प्रधानमन्त्री देउवा

मुख्य समाचार |


विपद् र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय छ : प्रधानमन्त्री देउवा
सशस्त्र प्रहरीको २१ औं स्थापना दिवसलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।


काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विपद् र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । आइतबार सशस्त्र प्रहरीको २१ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले २०७२ सालको भूकम्प, प्राकृतिक प्रकोप, कोभिड महामारी, विपद्का घटनासँगै सीमा सुरक्षा र नागरिकको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको हो ।

‘२०७२ सालको भूकम्प, विभिन्न समयका घटना र दुर्घटना, प्राकृतिक प्रकोप, विपद्का घटना, कोभिड महामारीको नियन्त्रण, सम्पूर्ण प्रतिकार्य र संकटमा नागरिकको सुरक्षा र देशको सुरक्षाको सम्बन्धमा सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले सीमित साधन स्रोत र हरेक चुनौतीबीच सीमा सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदान बिर्सन नमिल्ने बताउनुभयो । त्यसका लागि सशस्त्र प्रहरी महानिरीक्षक र सकल दर्जालाई उहाँले धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ । ‘सीमाक्षेत्रमा आफ्नो सशक्त उपस्थितिका साथै अहोरात्र तैनाथ भएको सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यसको क्षमता अभिवृद्धि गर्ने सोच मेरो रहेको छ । यसका लागि सरकार तयार छ ।’ यसका लागि सशस्त्र प्रहरी र गृह मन्त्रालयले थप गृहकार्य गर्ने उहाँको विश्वास छ ।

राज्यको आवश्यकता अनुसार जटिल अवस्थामा पनि कार्य गर्न सक्ने अवस्थाको परिकल्पना अनुसार सशस्त्र प्रहरी संगठन स्थापना भएको कुरा देउवाले स्मरण गर्नुभएको छ । ‘राज्यको अवश्यकता अनुसार जटिल अवस्थामा प्रतिकार्य गर्न सक्ने अवस्थाको परिकल्पना अनुसार सशस्त्र प्रहरी संगठन स्थापना भएको हो’, प्रधानमन्त्री देउवाले स्थापनाकाल सम्झदै भन्नुभयो, ‘यो अतीत आज पनि मेरो मनमा ताजा छ । आफ्नै पहलमा स्थापना भएको संगठनको २१ औं स्थापना दिवसमा सहभागी हुँदा हर्षित भएको छु ।’

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । कार्यक्रममा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीका अधिकारीलाई सम्मान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?