logo
२०८० चैत्र १५ बिहीवार



खेलकुदमा फेरि कोरोना कहर

फुटबल |
खेलकुद |


खेलकुदमा फेरि कोरोना कहर
फाइल तस्बिर



काठमाडौँ, माघ ८ गते । कोरोना कहरका कारण मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा गोल्ड कपको २०औँ संस्करण बिनादर्शक सञ्चालन भइरहेको छ । दर्शकबिना प्रतियोगिता सञ्चालन गर्नु आर्थिक दृष्टिले पनि आयोजकका लागि ठूलो धक्का लागेको छ ।

कोरोनाकै कारण दशरथ रंगशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगसमेत प्रभावित बन्यो । च्यासलका १९ जना खेलाडीमा संक्रमण देखिएपछि च्यासल र नेपाल पुलिसबीच नवौँ चरणको खेल स्थगित नै भएको छ ।

कोरोनाको संक्रमण दर बढेसँगै जारी प्रतियोगिता प्रभावित भएको मात्र होइन । सञ्चालनको मुखमा रहेका अधिकांश खेलकुद प्रतियोगिता रद्द नै गरिएका छन् । काठमाडौँमा माघ १५ गतेका लागि तय भएको ‘केटीएम रन’ पनि स्थगित भएको छ ।

मोफसलमा सञ्चालन हुन लागेको नकआउट फुटबल प्रतियोगिता पनि स्थगित हुनेक्रम सुरु भएको छ । आयोजकले हेटौँडामा हुने शहिद स्मृति गोल्ड कप र धनगढीमा हुने खप्तड गोल्डकप रद्द गरिसकेको छ ।

माथिका प्रतिनिधि उदाहरण मात्र हुन् । कोरोना भाइरसको तेस्रो लहर ‘ओमिक्रोन’ को बढ्दो संक्रमणले खेलकुद क्षेत्रलाई नराम्रोसँग प्रभावित बनाएको छ । खेलकुदका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल तालिकालाई ठूलो असर पार्ने देखिएको छ । गत असोज महिनादेखि विस्तारै खुलेका रंगशाला र खेलकुदका कभर्डहल सुनसान बन्न थालेका छन् । मार्सल आर्टसलगायत अन्य खेलकुदका गतिविधि ठप्प भएका छन् ।

क्रिकेट र फुटबलमा मुख्य असर

कोरोनाको तेस्रो लहरले मुख्यतः राष्ट्रिय फुटबल टोली र क्रिकेट टोलीको बन्द प्रशिक्षणलाई प्रभावित बनाएको छ । नेपाली क्रिकेट टोली अहिले ओमानमा फेब्रुअरी १७ तारिखदेखि सुरु हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा ब्यस्त छ । तर, टोलीका मुख्य खेलाडी करण केसी, कमलसिंह ऐरी र कुशल भुर्तेललाई कोरोना संक्रमण देखिएपछि प्रशिक्षणमा सामेल हुन सक्नुभएको छैन ।

नेपालले ग्लोबल छनोटको तयारीका लागि छनोट खेलअघि नै ओमानमा नेपाल, ओमान, आयरल्यान्ड र यूएईगरी चार देश सम्मिलित टी–२० सिरिज पनि खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नै सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग, दोस्रो खेल १२ तारिख यूएई र तेस्रो तथा अन्तिम खेल १४ तारिख टेस्ट टोली आयरल्यान्डसँग खेल्नेछ । त्यसअघि खेलाडीमा संक्रमण देखिन थालेपछि क्रिकेट टोलीमा कोरोनाको त्रास बढ्दो छ ।

क्रिकेटमा जस्तै नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालामा खेल्ने अफ्रिकी देश मोरिसससँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्दैछ । मैत्री खेलका लागि फुटबल टोलीको बन्द प्रशिक्षण एकसाता अघिदेखि सुरु भइसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणअघि खेलाडीमा गरेको पीसीआर प्रशिक्षणमा ६ खेलाडी र टोलीका व्यवस्थापकमा समेत कोरोना संक्रमण देखिएको छ । कोरोनाको तेस्रो लहरले फुटबललाई ठूलो मारमा पारिरहेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो ।

‘अहिले मुख्य फुटबलको सिजन हो । घरेलु फुटमलमा भर्खर ‘ए’ डिभिजन लिगलगायत मोफसलमा ठूला प्रतियोगिता सञ्चालन हुने क्रममा थियो । हामीले सञ्चालन गरिरहेको खेल मात्र होइन । अब हुने लागेको खेललाई पनि गाह्रो हुने देखिएको छ,’ तुलाधरले भन्नुभयो ।

नेपाल र मोरिससको खेल नरोकिने

कोरोना संक्रमण दर बढे पनि नेपाल र मोरिससबीचको मैत्रीपूर्ण फुटबल नरोकिने एन्फाले जनाएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले मोरिसस र नेपालबीचको खेल हुने बताउनुभयो ।

‘नेपाली टोलीका केही खेलाडीमा कोरोना संक्रमण देखिएको छ । तर, मोरिसस टोली शनिबार नेपाल भ्रमणमा निस्किसकेको छ । मोरिससका सबै खेलाडीमा कोरोना संक्रमण भएर खेल्न नसक्ने अवस्था आएमात्र खेल रोकिने हो । अन्यथा मैत्री खेल हुनेछ,’ तुलाधरले भन्नुभयो ।

तुलाधरका अनुसार नेपाल र मोेरिससको खेल नेपाल सरकार, विश्व स्वाथ्य संगठन र विश्व फुटबल महासंघ (फिफा) ले तय गरेको कोभिड स्वास्थ्य मापदण्ड अनुसार हुनेछ । यसअघि सरकारले दशरथ रंगशालामा एक तिहाई दर्शकलाई प्रदेश दिएर खेल खेलाउन पाउने मापदण्ड छ । एन्फाले सोही मापदण्ड अपनाएर मोरिसससँगको खेल खेलाउनेछ ।

‘हामी अझै सरकारसँग छलफल गर्नेछौँ । सकेसम्म थोरै दर्शकलाई रंगशाला प्रवेश गराएर खेल देखाउछौँ । त्यो भएन भने दर्शकबिनै पनि गर्नुपर्ने हुन्छ । मोरिसस टोली शनिबार हिँडेकोले साेमबार आइपुग्नेछ,’ तुलाधरले भन्नुभयो ।

एन्फाले कोरोनाको संक्रमण दर बढेसँगै एन्फाले माघ १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘ए’ डिभिजन महिला लिग तत्कालका लागि स्थगित गर्न लागेको छ । एन्फाले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौँ राउन्ड पछिको खेल तालिका समेत सार्वजनिक गरेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?