logo
२०८१ बैशाख १२ बुधवार



मास्क नलगाउनेलाई जरिवाना

मुख्य समाचार |


मास्क नलगाउनेलाई जरिवाना


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ७ गते । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरूले अनुगमन र कारबाही थालेका छन् । अनुगमनका क्रमममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीसमेत गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाउने आठ जनालाई कारबाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले मास्क प्रयोग नगर्ने आठ जनालाई एक सय रुपियाँ जरिवाना गरिएको बताउनुभयो ।

नयाँबानेश्वर, मीनभवन र बबरमहललगायत क्षेत्रमा दिउँसो अनुगमन गरिएको पौडेलले बताउनुभयो । यस्तै सार्वजनिक स्थल तथा सवारीसाधनको पनि प्रशासनको टोलीले अनुगमन गरेको छ । अनुगमनलाई सचेतनाका रूपमा अघि बढाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । उपाध्यायले भन्नुभयो, “अनुगमन निरन्तर भइरहेको छ । अब कडाइका साथ लागू गर्छौं ।” कोभिड–१९ को जोखिम दिनानु दिन बढ्दै गएपछि बजार, बसपार्क, सार्वजनिक स्थान, अस्पताल, सार्वजनिक यातायात, सपिङ मल, होटल, रेस्टुरेन्ट, खाजाघर र कार्यालयहरूमा समेत अनुगमन बढाइएको छ ।

त्यस्तै कोभिड सङ्कटको मौका छोपेर कालोबजारी गर्ने, अत्यावश्यक औषधि लुकाउने, महँगो मूल्यमा बिक्री गर्ने र खाद्यान्नलगायतका मूल्य बढाउनेविरुद्ध पनि स्थानीय प्रशासनले अनुमगन सुरु गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड महामारी रोकथामका लागि नेपाल सरकार गृह मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)बाट जारी निर्देशनको कडाइका साथ कार्यान्वयन भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?