logo
२०८० चैत्र १५ बिहीवार



नब्बे लाख खोप मौज्दात

मुख्य समाचार |


नब्बे लाख खोप मौज्दात


काठमाडौँ, माघ ३ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।

मन्त्रालयका अनुसार लक्षित नागरिक समूहमध्ये खोपको एक मात्रा लगाउनेको सङ्ख्या एक करोड ५८ लाख ३७ हजार ६७१ रहेको छ । पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड २१ लाख २७ हजार ८२९ रहेको छ । पूर्ण मात्रा लगाउने ६० दशमलव ९ र एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ७९ दशमलव ५ प्रतिशत हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लक्षित वर्गका सबै नागरिकलाई खोप दिइने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप सबै स्थानीय तहमा पठाएको जानकारी दिएको छ तर खोपको पहुँचभन्दा बाहिर रहने नागरिकको सङ्ख्या अहिलेसम्म पनि उल्लेख्य छ । स्थानीय तह र नागरिकबीच समन्वय अभाव हुँदा खोप लगाउन ढिलाइ भएको हो ।

खोपमा ढिलाइका कारण प्रस्ट पार्दै मन्त्रालयका प्रवक्ता डा. मिश्राले भन्नुभयो, “सबै नागरिकलाई खोप व्यवस्था गर्न सरकार प्रतिबद्ध छ तर स्थानीय तहमै पुगेको खोप पनि लगाउन सर्वसाधारण नआएका कारण ढिलाइ भएको हो ।” उहाँले भन्नुभयो, “माघ पहिलो सातादेखि बुस्टर डोज खोप लगाउने तयारी भइरहेको छ तर अहिले पनि पहिलो मात्रा नलगाउने पनि हुनुहुन्छ । सबैलाई आग्रह छ, खोप केन्द्रमा गएर खोप लगाउनूूस् ।” नेपालमा अहिले कोरोना भाइरसविरुद्धको करिब ९० लाख मात्रा खोप मौज्दात रहेको छ । स्वास्थ्य सेवा विभागका निर्देशक डा. रुद्र मरासिनीले भन्नुभयो, “केन्द्रको स्टोर, प्रादेशिक र स्थानीय तहको तथ्याङ्क हेर्दा अहिले झन्डै ९० लाख खोपको मात्रा मौज्दात रहेको देखिएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?