logo
२०८० चैत्र १६ शुक्रवार



पर्यटनको सम्भावना रहेको देवघाट

पर्यटन |


पर्यटनको सम्भावना रहेको देवघाट


वसन्त पराजुली

भरतपुर, माघ ३ गते । देवघाट महत्त्वपूर्ण धार्मिक स्थल हो । माघे सङ्क्रान्तिका दिन त यहाँ ठूलो मेला नै लाग्छ तर यस क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा पर्याप्त काम काम हुन सकेको छैन । कोरोना महामारी बढेपछि यस पटकको मकर सङ्क्रान्तिमा देवघाटमा भेला नहुन स्थानीय प्रशासनले रोक नै लगायो तर पनि यसले सर्वसाधारणलाई रोकेन । माघे सङ्क्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक महत्त्वको सम्बन्ध भएकाले स्नानकै लागि आउने भक्तजनको सङ्ख्या उल्लेखनीय रहेको गलेश्वर आश्रमका व्यवस्थापक महेन्द्र प्याकुरेलले बताउनुभयो ।

देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहे पनि यहाँका महत्त्वपूर्ण सम्पदाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको प्याकुरेलको बुझाइ छ ।
“धार्मिक पर्यटनको सम्भावना भए पनि यसको समुचित विकास गर्न सकिएको छैन । देवघाट धार्मिक रूपमा महŒवपूर्ण स्थल हुँदाहँुदै पनि हामीले यसको महत्त्व बुझाउन सकिरहेका छैनौँ,” भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा. सुवेदीले भन्नुभयो । देवघाटमा धार्मिकसँगै पर्यटकलाई आकर्षण गर्ने रमणीय स्थल पनि रहेको उहाँले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष गुरुप्रसाद सुवेदीले नेपालमा पशुपति, मुक्तिनाथ र जानकी मन्दिरमा जस्तै देवघाटको पनि धार्मिक पर्यटन विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
देवघाटको विकासका लागि नीतिगत रूपमा गर्नुपर्ने कार्यक्रम गर्न नसकिएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “देवघाटको महत्त्वसहितको सूचना केन्द्र बनाउनुपर्ने काम पनि हुन सकेको छैन भने पशुपति, मुक्तिनाथ र जानकी मन्दिर जाने पर्यटकलाई बीचमा पर्ने देवघाटमा छिराउने प्याकेज कार्यक्रम दिन पनि सकिएन । ”

देवघाटका विभिन्न मठमन्दिरका आफ्नै धर्मशाला भए पनि सरकारका तर्फबाट धर्मशाला निर्माण हुन भने सकेको छैन । हरेक वर्ष माघे सङ्क्रान्तिको दिनमा देवघाटमा ठूलो मेला लाग्छ । यसबाहेक पनि साउनको सोमबार ‘बोलबम’ आउने गरेका छन् । अन्य समय देवघाट घुम्न आउनेको सङ्ख्या भने ज्यादै न्यून हुन्छ ।

देवघाटको सबैभन्दा बढी आकर्षण बेनी नै हो । दामोदर कुण्डबाट आएको त्रिशूली नदी र मुक्तिनाथ हुँदै आएको कालीगण्डकी नदीको सङ्गम भएका कारण देवघाटको बेनी धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । सूर्य मकर राशिमा भई उत्तरायण हुने माघे सङ्क्रान्तिका दिन देवघाटमा आएर बेनीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुने विश्वास भक्तजनमा छ । बेनीमा जलयात्रा गराउने व्यवस्था गर्ने हो भने पर्यटकलाई थप आकर्षण गर्न सकिने विज्ञहरू औँल्याउँछन् । अझै नदी किनारमा भेटिने शालिग्रामलाई देवता मानेर पुज्ने गरिन्छ । सीता भासिएको गुफा, शिला बढ्ने विश्वास गरिएको मणि मुकुन्दसेन चक्रवर्ती महादेव मन्दिर र योसँगै रहेको पुष्प वाटिका पर्यटकको मन तान्न सफल छ ।

यस्तै देवघाटमै रहेका विभिन्न मठमन्दिर र पीठले सञ्चालन गरेका गुरुकुल संस्कृत विद्या आर्जन गर्ने थलो बन्दै आएका छन् । चितवनतर्फ भएको महाबौद्ध गुम्बा र विभिन्न मठमन्दिर पर्यटकका रोजाइ क्षेत्र हुन् । देवघाटका वृद्धाश्रम इतिहास अध्ययन गर्ने थलो बनिरहेका छन् ।
देवघाटमा निर्माण हुने भनिएको त्रिकोणात्मक पुल निर्माणको काम सुरु हुन सकेको छैन । पुलको निर्माणको काम प्रक्रियामा रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाटको विकासका लागि बनेको २१ वर्षे गुरुयोजना १३ वर्ष पूरा हुँदै गर्दा पनि २५ प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । ” नेपाल सरकारले देवघाटको विकासलाई प्राथमिकतामा नराख्दा समस्या भएको उहाँको तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?