logo
२०८१ बैशाख ७ शुक्रवार



देख्न पाइने भयो पृथ्वीनारायणको बन्दुक

खुला |


देख्न पाइने भयो पृथ्वीनारायणको बन्दुक


प्रकृति अधिकारी

काठमाडौँ, पुस २० गते । तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्दबाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो । यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिँइदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारकोपनि अवलोकन गर्न पाइने भएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भन्नुभयो, “पृथ्वीनारायण शाहको निजी बन्दुकका साथै त्यसबेला लुटिएका र नेपालमा बनेका केही हतियार प्रदर्शनीमा राख्ने भएका छौँ ।” सङ्ग्रहालय यसै महिनाबाट प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको छ ।

भूकम्पले नासलचोकस्थित पश्चिमतर्फको सेतो दरबारलाई नराम्ररी क्षति गरेपछि त्यहाँ रहेका पृथ्वीनारायण शाह र त्रिभुवनले प्रयोग गरेका सामग्रीलगायतलाई दरबारभित्रको नागपोखरीनजिकै प्रिफ्याबको टहरामा बन्द गरी राखिएको छ । गद्दी बैठकमा एकीकरण अभियानदेखि गणतन्त्र स्थापना हुँदासम्मका राजनीतिक घटनाक्रमलाई सिलसिलाबद्ध प्रदर्शन गरिनेछ । सोही क्रममा पृथ्वीनारायण शाहसँग जोडिएका सामग्री पनि त्यहाँ राख्न प्रिफ्याबको टहराबाट झिकिएको छ । प्रदर्शनी कक्ष तयार गर्न खटिनुभएकी प्राविधिक (वास्तुविद्) एनी जोशीले हाललाई पुराना केही हतियार र सङ्गीनमात्र प्रदर्शनीमा राखिने जानकारी दिँदै सन्धिपत्र, दस्तावेज, तस्बिरलगायत पनि राखिने बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको बेलायती शैलीको गद्दी बैठक भूकम्पले क्षतिग्रस्त भएपछि अमेरिकी एम्बेसडर फन्डको आर्थिक सहयोगमा मियामोतो नामक संस्थाले पुनर्निर्माण गरिदिएको हो । भूकम्प जानुअघि गद्दी बैठकको भुइँतलामा हनुमानढोका दरबार सुरक्षार्थ खटिएका सैनिक बस्ने गर्थे । पुनर्निर्माणपछि त्यहाँ सैनिकले अस्थायी रूपमा बनाएका कोठा भत्काई पुरानै अवस्थामा ल्याइएको छ । बडेमानका गारो भएका भुइँतला निकै चिसो छ । ओसले प्रदर्शनीमा राखिने सामग्री बिगार्ला कि भन्ने चिन्तामा सङ्ग्रहालयका पदाधिकारी छन् ।

गद्दी बैठकको भुइँतलालाई चार खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा एकीकरण अभियानसँग जोडिएका प्रसङ्गलाई समावेश गरिनेछ । दोस्रो खण्डमा राजनीतिक घटनाक्रमसम्बन्धी भिडियो प्रदर्शन गरिनेछ । तेस्रो खण्डमा सुगौली सन्धिदेखि राणाकाल, प्रजातन्त्र र पञ्चायतसम्मका मुख्य राजनीतिक घटनाबारेमा सामग्री हेर्न पाइनेछ भने चौथो खण्डमा दुईवटै जनआन्दोलन, जनयुद्ध र गणतान्त्रिक मुलुकको संविधान जारी भएको मितिसम्मका सामग्री राखिनेछ ।

विशेष अवसरमा राष्ट्रका विशिष्ट पदाधिकारी तथा विदेशी कूटनीतिकलाई मात्र पहुँच हुने गरेको गद्दी बैठकको माथिल्लो तलामा पनि सर्वसाधारणलाई अवलोकन गराइनेछ । सङ्ग्रहालयका कार्यकारी निर्देशक खनालले हनुमानढोका सङ्ग्रहालय अवलोकन गर्न आउनेले गद्दी बैठक पनि अवलोकन गर्न पाउने बताउनुभयो । नासलचोकस्थित पश्चिमतर्फको भवन पुनर्निर्माण भइरहेकाले सो सम्पन्न नहुन्जेलका लागि अवलोकनकर्ता हनुमानढोका सङ्ग्रहालयबाट बाहिर निस्किएर कुमारीघरको उत्तरतर्फको बाटो हुँदै गद्दी बैठक प्रवेश गर्नुपर्ने हुन्छ ।

हनुमानढोकामा आएर प्रत्यक्ष आवलोकन गर्न नसक्ने अवलोकनकर्ताका लागि घरमै बसेर हेर्न सकिने व्यवस्था गरिँदै छ । “हाम्रो वेबसाइटमा भर्चुअल टुरको व्यवस्था गर्दै छौँ । त्यसमा दरबारभित्रका थुप्रै तस्बिर राखिनेछ,” उहाँले भन्नुभयो, “भर्चुअल टुर प्रत्यक्ष हेरेकोजस्तो हुँदैन । तर, विभिन्न कारणले यहाँसम्म आएर अवलोकन गर्न नसक्नेका लागि फाइदाजनक हुनेछ ।” भर्चुअल टुरका लागि ३६० डिग्रीमा खिचिएका तस्बिर राखिनेछन् भने त्यसमा तस्बिरसँगै जानकारी पनि समावेश गरिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?