logo
२०८१ बैशाख ८ शनिवार



पुनर्निर्माण सम्पन्न, टहरामै राष्ट्रिय पुस्तकालय

मुख्य समाचार |


पुनर्निर्माण सम्पन्न, टहरामै राष्ट्रिय पुस्तकालय


भउचप्रसाद यादव

भक्तपुर (सानोठिमी), पुस २० गते । २०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए । पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ ।

यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको भवन, सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाम र हरिहर भवनकै बाल शाखाको गोदामभित्र बोरामा राखिएका थिए ।

तत्कालीन नायब बडागुरु हेमराज शर्मा पाण्डेको निजी सङ्कलनमा रहेको भारती भवन पुस्तकालयमा रहेका करिब ३० हजार पुस्तक तीन लाख भारतीय रुपियाँमा किनेर र केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका करिब आठ हजार पुस्तकसमेत मिलाएर २०१३ साल पुस १३ देखि पुस्तकालय सेवा सुरु गरिएको थियो ।त्यही दिनको स्मरण गर्दै स्थापना दिवस पुस १९ नै पारेर टहराबाट सेवा सुरु गरिएको हो । सुरुमा सिंहदरबारमै रहेको प्ुस्तकालय धेरै ठाउँ सर्दै अहिले भक्तपुरको सानोठिमी पुगेको छ ।

जग्गा प्राप्तिको प्रस्ताव भने मन्त्रिपरिषद्मा रहेको बताइएको छ । स्थापनाताका यो पुस्तकालय सिंहदरबारभित्रको सिक्री ढोका भन्ने भवनमा थियो । २०१७ सालमा यसलाई सिंहदरबारबाट ललितपुरस्थित हरिहर भवनमा सारिएको थियो । २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण सङ्कलनको सूचीकरण सम्पन्न गरेको थियो ।

अहिले पुस्तकालयमा एक लाख ५० हजार पुस्तक छन् । पुस्तकालयमा तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थसहित नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, मराठी, फ्रान्सेली, जापानी, थाई, मलेसियाली र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् । पुस्तकालयको ६५औँ स्थापना दिवसको उपलक्ष्यमा पुस्तकालय भवन, सानोठिमीमा सोमबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले पुस्तकालयको दराज (¥याक)बाट पुस्तक झिकेर अध्ययन गरी पाठक सेवाको शुभारम्भ गर्नुभयो ।

पुरानो अभिलेख र पुस्तक जोगाउनु यस पुस्तकालयको मुख्य दायित्व रहेको बताउँदै उहाँले पुस्तकालय अध्ययनले नै आफूले बीपी कोइरालाजस्ता नेताहरूलाई चिन्ने अवसर प्राप्त गरेको चर्चा गर्नुभयो । उहाँले पुस्तकालयका पुस्तकहरूको ‘डिजिटलाइजेसन’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख दशरथ मिश्रले भूकम्पपछि अस्तव्यस्त बनेको पुस्तकालय अबको एक वर्षभित्र मुलुककै स्तरीय पुस्तकालयहरूमध्ये स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछि विभिन्न ठाउँमा रहेका पुस्तक अहिले अस्थायी भवनमा एकत्रित गर्ने काम पूरा भएको बताउँदै अब नयाँ किसिमले पुस्तकहरूको अभिलेखीकरण गर्ने जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख यादवचन्द्र निरौलाले अहिले मन्त्रालयले मुलुकभरिका पुस्तकालयहरूको अभिलेखीकरण गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मुलुकभरि सात सयभन्दा बढी पुस्तकालय स्थापना भए पनि अहिले आधाभन्दा बढी बन्द अवस्थामा पाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेश यादवले राष्ट्रिय पुस्तकालयको सञ्चालन मुलुककै साझा दायित्वका रूपमा रहेको धारणा व्यक्त गर्नुभयो । केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख इन्द्रप्रसाद अधिकारीले राष्ट्रिय पुस्तकालय कुनै पनि मुलुकको बौद्धिक सम्पदाको धरोहरका रूपमा रहे पनि हामीकहाँ पुस्तकालयले राजनीति तथा राज्यको संरक्षण र महìव पाउन नसकेको विचार व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?