logo
२०८१ बैशाख ८ शनिवार

   राष्ट्रिय सभा निर्वाचन   



दुई हजार पच्चीस मतदाता कायम

मुख्य समाचार |


दुई हजार पच्चीस मतदाता कायम


इश्वरचन्द्र झा

काठमाडौँ, पुस १८ गते । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको जानकारी दिनुभएको छ ।
सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन ।

राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ । विराटनगरस्थित निर्वाचन कार्यालयका प्रमुख लेबन कश्यपले ९२ जना प्रदेश सभा सदस्य र २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ३६४ जना मतदाता कायम भएको जानकारी दिनुभयो । प्रदेश २ मा १०४ प्रदेश सभा सदस्य र २६८ स्थानीय तहका गरी कुल ३७२ जना मतदाता कायम भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा १०९ प्रदेश सभा सदस्य र २३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४६ जना मतदाता रहेका छन् । गण्डकीमा ५९ प्रदेश सभा सदस्य र १७० स्थानीय तहका गरी कुल २२९ मतदाता रहने भएका छन् । लुम्बिनीमा ८१ प्रदेश सभा सदस्य र २१५ स्थानीय तहका गरी कुल २९६ मतदाता रहनेछन् । कर्णालीमा ३५ प्रदेश सभा सदस्य र १५६ स्थानीय तहका प्रमुख गरी १९१ जना मतदाता कायम भएका छन् । सुदूरपश्चिममा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका प्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?