logo
२०८१ बैशाख ८ शनिवार



सिभिल ग्रुपका अध्यक्ष तामाङलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

खुला |


सिभिल ग्रुपका अध्यक्ष तामाङलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश



काठमाडौँ, पुस १४ गते । निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पूर्वसभासद् एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले थुानामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा तामाङ र श्रेष्ठलाई थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो ।
तामाङ र श्रेष्ठले थुनछेक आदेश उपर चित्त नबुझाए माथिल्लो अदालतमा आदेश बदरको मागसहित दिन दिन भने पाउनु हुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार थुनछेक आदेशमा चित्त नबुझेमा एक तह माथिल्लो अदालतमा निवेदन दिन सकिने व्यवस्था छ । जन्मकैद तथा दश वर्ष वा सोभन्दा माथिको सजाय हुनसक्ने कसुरको थुनछेकमा भने पक्षले एक तहभन्दा माथिल्लो अदालतमा पनि निवेदन दिन पाउने कानुनी व्यवस्था छ ।
जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले अदालतमा हाजिर गराइएका १२ प्रतिवादीमध्ये दुई जनालाई थुनामा पठाएको छ । अन्य ९ जनालाई धरौटीमा रिहाको आदेश दिँदा एक जना साधरण तारेखमा रिहा हुने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । कसुरमा संलग्न रहेका भनिएका अन्य २९ जना अझै फरार छन् । फरारको हकमा उपस्थिति गराउन कानुनी प्रक्रिया अघि बढाइने छ ।
दाहालका अनुसार अदालतमा उपस्थित गराइएका हरिहर लामिछानेसँग ५० लाख रुपियाँ धरौटी माग भएको छ । यस्तै, विजयविक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह डंगलालाई १० लाख रुपियाँ धरौटीमा रिहाको आदेश भएको छ ।
अन्य चार प्रतिवादीलाई अदालतले जनही ५ लाख रुपियाँ धरौटी माग गरेको छ । पाँच लाख रुपियाँ धरौटीमा माग भएका प्रतिवादीमा कस्तुभ केतन ढुङ्गाना, एलिना तुलाधर, मायोनानी महर्जन र बुद्धराज तामाङ रहनुभएको छ । अदालतले प्रतिवादी शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र प्रतिवादी राकेश महर्जनसँग ५० हजार रुपियाँ धरौटी माग गरेको छ । प्रतिवादी संगीत श्रेष्ठ साधरण तारेखमा रिहा हुनुभएको छ ।
सहकारीमार्फत कर्जा दुरुपयोग र ठगीको समेत आरोपमा तामाङलाई असोज १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष र कर्मचारी पनि पक्राउ परेका थिए ।
प्रहरीले डेढ महिनाभन्दा लामो अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सरकारी वकिल कार्यालयले मंसिर १७ गते तामाङका परिवारका सदस्यसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपियाँ बिगो कायम गरिएको छ । ठगी र संगठित अपराधमा मुद्दा चलाइएको छ । अभियोग पत्रमा तामाङ र परिवारका सदस्यका नाममा रहेको सम्पत्ति समेत रोक्का राख्न माग गरिएको छ । तामाङ नेकपा (एमाले) का तर्फबाट दोस्रो संविधान सभामा सदस्य पनि हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?