logo
२०८० चैत्र १५ बिहीवार



लिपुलेकका मतदाताको नामावली सङ्कलन हुने

खुला |


लिपुलेकका मतदाताको नामावली सङ्कलन हुने


चाँदनी हमाल

काठमाडौँ, पुस १४ गते । नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ । अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुनेछ ।

सरकारले त्यस क्षेत्रका बासिन्दाको जनसङ्सख्या जनगणनामार्फत समेटेलगत्तै त्यस क्षेत्रका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्ने तयारी थालेको हो । २०७७ साल जेठ ७ गते नेपालको अद्यावधिक चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । सोहीअनुसार चुच्चे नक्सामा नेपालको भूभागका रूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र प्रस्ट रूपमा समेटिएको छ ।

पहिलेदेखि नै नेपालको भूभाग रहिआए पनि छिमेकी मुलुक भारतसँगको विवादका कारण ती भूभागमा औपचारिक गतिविधि कम रहेको थियो तर यो वर्ष भएको जनगणनाले नेपाल सरकारको औपचारिक उपस्थितिलाई बलियो बनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भन्नुभयो, “त्यहाँका बासिन्दाको नाम मतदाता नामावलीमा समेटिन्छ अनि आगामी निर्वाचनमा उहाँहरूले सहभागिता जनाउन पाउनुहुन्छ ।”

उहाँका अनुसार केन्द्रीय तथ्याङ्क विभागले विभिन्न माध्यमबाट त्यहाँका नेपालीको लगत जनगणनामार्फत लिएर आइसकेको छ । गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले दिएको जानकारीअनुसार तिङ्कर, छाङरु र गुञ्जी गाउँको जनसङ्ख्याको लगत सङ्कलन भइसकेको छ । त्यति भएपछि नेपाल सरकारको खुला रहेको तथ्याङ्कीय प्रणालीमा त्यहाँ रहनुभएका नेपालीलाई आबद्ध गराउन सहज भएको गृह प्रवक्ता कोइरालाले बताउनुभयो ।

जनसङ्ख्यामा आइसकेपछि त्यही आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका बासिन्दाको राष्ट्रिय परिचयपत्र बन्नेछ । राष्ट्रिय परिचयपत्रकै आधारमा सजिलै मतदाता नामावलीमा नाम अद्यावधिक हुने विश्वास प्रवक्ता कोइरालाले व्यक्त गर्नुभयो । मतदाता नामावली सङ्कलन र अन्य गतिविधि सञ्चालन गर्न सहज नभए पनि कसरी सहज बनाउने भन्ने विषयमा सरकारले थप गृहकार्य र छलफल जारी राखेको कोइरालाले बताउनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले त्यहाँका जनताको तथ्याङ्क जनगणनामार्फत सङ्कलन गर्न निकै कठिनाइ खेप्नु परेको सुनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?