logo
२०८० चैत्र १५ बिहीवार

   प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस   



ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक

खुला |


ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक


नगेन्द्र सापकोटा

काठमाडौँ, पुस ११ गते । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आइतबार देशव्यापी रूपमा मनाइँदै छ । २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई एक सय रुपियाँ प्रदान गरेको दिनलाई स्मरण गर्दै आइतबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।

गत २०७७ पुस १० गते बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको थियो । यस वर्षको दिवसको नारा “सभ्य नागरिकको पहिचान : ज्येष्ठ नागरिकको सम्मान” भन्ने तय गरिएको छ ।

हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपाललगायत अन्य मुलुकले मनाउँदै आएका छन् । अहिले नेपाल र विश्वमै बढ्दै गइरहेको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन र सहज बनाउने
चुनौती बढ्दै गइरहेको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकसँग भएको ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले कतिपय ज्येष्ठ नागरिक घरपरिवार र समाजबाट एक्लिँदै गएको बताउनुभयो । महासङ्घले सबै ज्येष्ठ नागरिकलाई आफ्नो घरपरिवारसँगै बस्न पाउनुपर्ने र घरपरिवार नभएका ज्येष्ठ नागरिकलाई सरकारले संरक्षण गर्नुपर्ने माग गर्दै आएको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी अध्ययन गर्दै आएको संस्था एजिङ नेपालका अनुसार अहिले पनि नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी दुव्र्यवहारमा कमी आएको छैन । एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले अहिले पनि दुई दिनमा एक जना ज्येष्ठ नागरिकको बेवारिसे शव भेटिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ज्येष्ठ नागरिकका लागि स्याहार र स्वास्थोपचार गर्ने आवश्यक दक्ष जनशक्ति नै नेपालमा छैन । ”

नेपालको कुल जनसङ्ख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छ । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हुँदै जाने एजिङ नेपालले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ज्येष्ठ नागरिक शाखा प्रमुख एवं उपसचिव शेखरबाबु कार्कीले सरकारले ज्येष्ठ नागरिकको दैनिकीलाई सहज र सम्मानित बनाउनेगरी काम गर्दै आएको बताउनुभयो ।

सरकारले २०५१ सालमा मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपियाँ पु-याइएको छ । ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको, भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन भएको, सार्वजनिक स्थानमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा वा मठ–मन्दिरमा लाइन बस्नु नपर्ने व्यवस्था कार्यान्वयन हुँदै आएको, सरकारी अस्पतालमा ज्येष्ठ नागरिकलाई उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने कार्य कार्यान्वयनमा आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । कतिपय स्थानीय तहले ज्येष्ठ नागरिकका लागि वार्षिक रूपमा विभिन्न धार्मिक स्थलको तीर्थाटन गराउने गरेका, ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गरेका र ज्येष्ठ नागरिकमैत्री पार्क निर्माण गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?