logo
२०८० चैत्र १६ शुक्रवार



आठौँ महाधिवेशन आजदेखि

मुख्य समाचार |


आठौँ महाधिवेशन आजदेखि


लक्ष्मण दर्नाल

काठमाडौँ, पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने आज (आइतबार) बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ । सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ ।

स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भन्नुभयो, “सबै प्रक्रिया पूरा भएकाले महाधिवेशन नै बनाऔँ भनेर स्थायी समितिको आजको आकस्मिक बैठकमा प्रस्ताव आएको छ । भोलि (आइतबार) केन्द्रीय समितिमा प्रस्ताव जान्छ । केन्द्रीय समितिले त्यसलाई पारित गरेमा यो आठौँ महाधिवेशनमा बदलिन्छ ।” शनिबार साँझसम्म माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो ।

महाधिवेशनको उद्घाटन आज हुँदै छ । चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदै छ । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ ।

महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ । महाधिवेशन नयाँ नेतृत्व, विचार र राजनीतिक कार्यदिशा तय गर्ने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताउनुभयो । सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमाथि छलफल र बहस गरी नयाँ विचार र कार्यदिशा निर्माण गरिने उहाँको भनाइ छ ।
जनयुद्धदेखि खुला राजनीतिसम्मका कमीकमजोरीका विषयमा आत्मसमीक्षासहित नयाँ कार्यदिशा निर्माण गरिने भएको छ । शनिबार साँझ बसेको स्थायी समितिको बैठकले प्रतिनिधिबारे छलफल गरे पनि टुङ्गो लगाएको छैन । आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउने भएको छ ।

महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता हुनेछ । जसमा १० प्रतिशत मनोनीत हुनेछन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नै खर्चमा खाने, बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीको अन्तरिम विधानअनुसार बहुपदीय प्रणालीमा नेतृत्व चयन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष चयन हुनेछन् । पदाधिकारीको सङ्ख्या १५ जना हुने प्रस्ताव गरिए पनि उपाध्यक्ष, उपमहासचिव र सचिवको सङ्ख्या भने तोकिएको छैन ।

कुल २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिमको ५ प्रतिशत कोटा व्यवस्था गरिएको छ । १३ प्रतिशत दलितलाई २ प्रतिशत थप गरेर विशेष अधिकार व्यवस्था गरिएको छ । २९९ केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जना आउनेछन् । ६७ जना महिला र १५ जना मुस्लिम समुदायबाट आउनेछन् । केन्द्रीय समितिमा ४८ जना युवाको प्रतिनिधित्व हुँदै छ ।
पुस ११ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुने महाधिवेशन पुस १५ गते सम्पन्न हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?