logo
२०८१ बैशाख ८ शनिवार



स्थानीय निर्वाचनको तयारी

मुख्य समाचार |


स्थानीय निर्वाचनको तयारी


चाँदनी हमाल

धुलिखेल, पुस ८ गते । आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । महिला पत्रकारहरूका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्याशालाको उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधिको निर्वाचित अवधि चैतमा सकिने भएकाले आगामी वर्षको वैशाखमा निर्वाचन गर्ने लक्ष्यसहित काम थालिएको उहाँले जानकारी दिनुभयो । थपलियाले भन्नुभयो, ‘‘२०७९ वैशाख २० गतेभित्रै निर्वाचन सम्पन्न गर्ने र समयमै नयाँ जनप्रतिनिधिहरू दिने विषयमा आयोग गम्भीर छ र छिट्टै नै स्थानीय तह निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने आयोगले तयारी गरिसकेको छ ।’’

२०७८ चैत ५ गतेभित्र ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुने जानकारी उहाँले दिनुभयो । स्थानीय तहका जनप्रतिनिधिको अवधि थप्ने कानुनी व्यवस्था अहिलेको मितिसम्म नरहेकाले स्थानीय सरकार रिक्त रहने कल्पना गर्न नसकिने प्रस्ट पार्दै उहाँले वैशाख २० गतेभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति एवं उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने प्रक्रियामा आयोग प्रवेश गरिसकेको थपलियाले बताउनुभयो । त्यसैले पनि अब आयोग निर्वाचनको पूर्वसन्ध्यामा प्रवेश गरेको मनसायका साथ महिला पत्रकारका लागि तालिम गरेर आयोगले आफ्नो निर्वाचनसम्बन्धी गतिविधि अघि बढाएको उहाँले सुनाउनुभयो । निर्वाचन गतिलो भयो भने मात्रै शासकहरू गतिला हुन्छन्, प्रतिनिधि गतिलो भयो भने मात्र हामीले गतिलो शासन पाउने हो, त्यसैले यो कुरालाई मनन गरिदिन उहाँले आग्रह गर्नुभयो । निर्वाचनका समयमा हुने दुष्प्रचार तथा गलत समाचारको हेक्का राख्दै निर्वाचनको मूल्य मान्यतालाई ध्यानमा राखेर सघाउन सञ्चारकर्मीलाई उहाँले अनुरोध गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?