logo
२०८० चैत्र १६ शुक्रवार



एमिकसको रायपछि अन्तिम सुनुवाइ

राष्ट्रिय |


एमिकसको रायपछि अन्तिम सुनुवाइ


नारायण काफ्ले

काठमाडौँ, पुस ६ गते । कर फस्र्योट आयोगमार्फत अनियमित तवरबाट राजस्व हिनामिना गरेको अभियोगको मुद्दाको अन्तिम सुनुवाइअघि एमिकसको राय सुनिने भएको छ । विशेष अदालले एमिकसको रायपछि मात्र मुद्दाका पक्ष विपक्षको धारणा सुन्ने आदेश गरेको छ । उक्त प्रकरणमा आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध मुद्दा चलाइएको छ ।

कर मिनाहासँगै तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दासमेत चलाएको छ । शर्मा र उहाँकी पत्नी कल्पना उप्रेतीविरुद्ध अख्तियारले अकुत सम्पत्तिमा पनि मुद्दा चलाएको छ । तीनवटै मुद्दालाई सँगै राखेर अन्तिम सुनुवाइमा लगिएको छ ।
विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले एमिकसको राय सुनेपछि मात्र अन्तिम सुुनुवाइको प्रक्रिया अघि बढाउने आदेश गरेको हो । यसअघि उक्त मुद्दामा एमिकस क्युरीको माग भएको थियो । मागअनुसार वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र राजु खड्कालाई एमिकस क्युरी सिफारिस गरिएको छ ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार अनियमित रूपमा कर फस्र्योट गरेको भन्दै अख्तियारले २०७४ साउन १ गते महत, ढकाल र शर्माविरुद्ध मुद्दा दायर गरेको थियो । हालसम्मकै सबैभन्दा ठूलो बिगो दाबीका रूपमा उक्त मुद्दा दायर भएको थियो । मुद्दामा १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ रुपियाँ बिगो कायम गरिएको छ ।

अख्तियारले कर छुटको उक्त मुद्दामा प्रतिवादीले अग्रिम कर कट्टासमेत मिनाहा गरेको, प्रशासकीय पुनरावलोकन गरेको, छली गरेको करसमेत छुट दिएर राज्यकोषमा हानि पु-याएको अभियोग तीन जनामाथि लगाएको छ । सरकारले गरेको कर निर्धारणमा चित्त बुझाएका पक्षलाई समेत छुट दिएको अभियोग अख्तियारको छ ।

अख्तियारले आयोगका तीन पदाधिकारीविरुद्ध २०७८ असार ९ गते अर्को मुद्दा दायर गरेको थियो । पहिलो मुद्दा विचाराधीन रहेकै अवस्थामा महत, ढकाल र शर्माविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले विशेष अदालतमा दर्ता गरेको थियो ।
अख्तियारले कानुनविपरीत कर छुट दिएको अभियोगमा एक अर्ब ३३ लाख २० हजार ५८५ रुपियाँ बिगो दाबीसहित दोस्रो मुद्दा तीन जनामाथि चलाएको हो । कर फस्र्योट आयोग ऐनको कार्यदेशविपरीत राज्यलाई हानि नोक्सानी पु-याएको आरोप अख्तियारले उनीहरूमाथि लगाएको छ । बक्यौता कर छुट दिएकोमा अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाएको हो ।

यस्तै, राजस्वका तत्कालीन महानिर्देशक शर्मा र उहाँकी पत्नी कल्पनामाथि भने अख्तियारले अकुत सम्पत्तिमा समेत मुद्दा चलाएको छ । उक्त मुद्दा २०७४ माघ १५ मा दायर गरेको हो । तीनै वटा मुद्दा एकसाथ सुनुवाइ प्रक्रियामा अघि बढाइएका छन् । शर्माविरुद्ध भने विशेषमा विचाराधीन यो तेस्रो मुद्दा हो ।

शर्मासँग चार करोड २९ लाख ५४ हजार १२४ रुपियाँ स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सरकारी सेवामा प्रवेश गरेको अवधिदेखि अभियोजन समयसम्म शर्मासँग तीन करोड ६३ लाख ७२ हजार ९६१ रुपियाँमात्र वैध आय रहेको दाबी अख्तियारको छ । जाँच अवधिमा शर्मासँग सात करोड ९३ लाख २७ हजार रुपियाँ सम्पत्ति रहेको दाबी अख्तियारले गरेको छ । स्रोत नखुलेको चार करोडलाई अख्तियारले अवैध मान्दै अकुत सम्पत्तिमा मुद्दा चलाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?