logo
२०८१ बैशाख ७ शुक्रवार



अन्ततः निर्वाचनबाटै नेतृत्व चयन

राष्ट्रिय |


अन्ततः निर्वाचनबाटै नेतृत्व चयन


लक्ष्मण दर्नाल

काठमाडौँ, पुस ६ गते । सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने भनेर एक हप्तादेखि सहमतिको प्रयास गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रदेश सम्मेलन अन्ततः निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ । बागमती प्रदेश सम्मेलनमा अध्यक्षका दाबेदारहरूबीच सहमति हुन नसकेपछि सोमबार निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।

अध्यक्षसहित नौ पदाधिकारी चयन गरिने निर्वाचनमा २९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा दीनानाथ गौतम र सरल सहयात्री पौडेल भिड्दै छन् । उपाध्यक्षमा १० जना, सचिवमा चार जना, सहसचिवमा १० जना र कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार राति ९ बजेदेखि मतदान सुरु भएको छ ।

बागमती प्रदेश नेतृत्वका लागि मङ्सिर २६ गतेको बन्दसत्रले चयन गरेको २७५ जना प्रदेश कार्यसमितिले मतदान गर्नेछन् । सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेपछि प्रदेश १ र बागमती प्रदेशमा निर्वाचनबाट चयन गर्न पार्टी सचिवालयले निर्देशन दिएको थियो । प्रदेश कार्यसमिति चयन भए पनि अध्यक्षसहित पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गर्न सोमबार निर्देशन गरिएको माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश १ को निर्वाचन प्रक्रिया भने सोमबार साँझसम्म अघि बढेको छैन । मङ्सिर २५ गते उद्घाटन भएको ९ प्रदेश सम्मेलनमा उपत्यका विशेष प्रदेश समितिबाहेक कुनै पनि प्रदेशले पदाधिकारी सहितको पूर्ण नेतृत्व चयन गर्न सकेको छैन । प्रदेश १ मा कार्यसमिति चयन गरिए पनि अध्यक्षसहितको पदाधिकारी चयन हुन सकेको छैन ।

प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यसमिति चयन भए पनि अध्यक्षसहितको पदाधिकारी चयन भएको छैन । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्ष र कार्यसमिति सदस्य चयन भए पनि अन्य पदाधिकारी टुङ्गिएको छैन । प्रदेश समन्वय समितिको पनि अध्यक्ष र कार्यसमिति चयन गरिएको छ । अन्य पदाधिकारी बाँकी छ । गण्डकीमा सावित्री गुरुङ, लुम्बिनीमा सुदर्शन बराल र कर्णालीमा विमला केसी चयन हुनुभएको छ । प्रदेश सम्पर्क समन्वय समितिमा श्रीकृष्ण अधिकारी र उपत्यका विशेष प्रदेशमा जगत सिम्खडा अध्यक्ष चयन हुनुभएको छ ।

वडा र पालिकास्तरमा सर्वसम्मतिमा नेतृत्व चयन गरिए पनि प्रदेशस्तरमा भने माओवादी केन्द्र निर्वाचनमा जानैपर्ने बाध्यता सिर्जना भएको छ । यसले गर्दा पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलन प्रभावित हुनसक्ने सदस्य श्रेष्ठको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?