logo
२०८१ बैशाख १३ बिहीवार



प्रतिनिधिको सूची पठाउने म्याद थप

राष्ट्रिय |


प्रतिनिधिको सूची पठाउने म्याद थप



लक्ष्मण दर्नाल

काठमाडौँ, पुस ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पुस ५ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शनिबार प्रदेश सम्मेलनको बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन गरेको प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिनुभयो ।

पुस ३ गतेसम्म प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाइका कारण दुई दिन सारिएको हो । मल्लका अनुसार प्रतिनिधिको सूची आइसकेपछि पार्टीको स्थायी समिति बैठक बस्नेछ । पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् । जसमा ५ प्रतिशत मनोनीत गर्ने व्यवस्था छ ।

प्रदेशलगायत स्थानीय तहको अधिवेशनमा अध्यक्ष प्रचण्डले सिधा हस्तक्षेप गरेको भन्ने आरोपको पनि सचिवालयले खण्डन गरेको छ । मल्लले भन्नुभयो, “राष्ट्रिय सम्मेलनका लागि भइरहेका विभिन्न तहका अधिवेशनमा अध्यक्ष प्रचण्डबाट हस्तक्षेप भएको कुरा एकदम गलत हो ।” सम्मेलनहरू नेतृत्व चयनका क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र छन् । पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको उहाँको भनाइ छ ।

सचिवालयका अनुसार पालिकादेखि प्रदेश सम्मेलनसम्म अधिकतम सहमतिको माध्यमबाट नेतृत्व चयन भएको छ । निर्वाचित कार्यसमितिले पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । निर्वाचित सदस्यले सकेसम्म सहमतीय निर्वाचन विधिमा र नभए बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला रहेको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र सदस्यता नवीकरणबाट सुरु भएको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । तर, मङ्सिर २५ गते उद्घाटन भएका प्रदेश सम्मेलनले अझै नेतृत्व चयन गर्न सकेका छैनन् । प्रदेश १ मा कार्यसमिति चयन भए पनि अध्यक्षसहितको पदाधिकारी चयन हुन सकेको छैन । प्रदेश २ मा शनिबारसम्म बन्दसत्र सुरु भएकै छैन ।

बागमती र सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यसमिति चयन भए पनि अध्यक्षसहितको पदाधिकारी चयन भएको छैन । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्ष र कार्यसमिति सदस्य चयन भए पनि अन्य पदाधिकारी टुङ्गिएको छैन ।

प्रदेश नेतृत्वमा धेरै जनाको दाबेदारी हुँदा सर्वसम्मतिमा नेतृत्व चयनमा ढिलाइ भएको माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठको भनाइ छ । बागमती प्रदेशको शनिबार नेतृत्व चयन गर्ने भनिए पनि पुस ५ गतेसम्म सारिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?