logo
२०८१ बैशाख ८ शनिवार



महाधिवेशन स्थल रङ्गीचङ्गी

राष्ट्रिय |
राजनीति |


महाधिवेशन स्थल रङ्गीचङ्गी


देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर २६ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशन स्थल भृकुटीमण्डप र प्रदर्शनीमार्ग क्षेत्र शनिबार रङ्गीचङ्गी तथा मनोरञ्जन स्थलमा परिणत भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिअन्तर्गत विभिन्न पदका उम्मेदवारले चुनाव प्रचार–प्रसारमा मौलिक कला संस्कृति समेटिएको झाँकी तथा नृत्य प्रयोग गरेका देखिन्थे । मतदातासँग भोट माग्न प्रयोग गरिएका पर्चा, पम्प्लेट, तुल, ब्यानर तथा बोर्डभन्दा प्रचार–प्रसारमा प्रयोग गरिएका फरक शैली, भेषभूषा, लोकनृत्य तथा सांस्कृतिक झाँकी बढी प्रभावकारी देखिएका छन् ।

आफ्नो पक्षका उम्मेदवारलाई जिताउन चुनाव प्रसार–प्रसारमा सुदूरपश्चिमको लोकदेउडा, छलिया नृत्यदेखि पूर्वी नेपालको लोकप्रिय साकेला नाच प्रस्तुत गरिएका छन् । काठमाडौँको धिमेबाजा र गण्डकी क्षेत्रको लोकदोहोरी पनि प्रस्तुत गरिएका छन् । मौलिक भेषभूषामा सजिएका उम्मेदवारको फोटो झुन्ड्याएर तथा अगाडि भागमा ब्यानर राखेर प्रदर्शनी मार्ग परिक्रमा गर्ने, बाजागाजासहितका झाँकी प्रदर्शन गर्ने र नाचगान गरी भोट माग्नेको उपस्थिति बाक्लो देखिन्थ्यो । टुँडिखेलवरपरका आकाशेपुल र शहीदगेटमा समेत उम्मेदवारका फ्लेक्स झुन्ड्याइएका छन् । सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचार–प्रसारमा लोकदेउडा, छलिया नृत्यका अतिरिक्त नुवाकोटबाट तामाङसेलो, थारूनाच र सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको प्रचार–प्रसारमा धिमेबाजासहितको झाँकी प्रस्तुत गरिएका थिए ।

त्यस्तै, महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको चुनाव प्रचार–प्रसारमा नुवाकोटबाट आएको एक समूहले तामाङसेलो प्रस्तुत गरेका थिए । काँग्रेस नेता दीपक गिरी, गुल्मीका रेशम बानियाँको प्रचार–प्रसारमा लोकदोहोरी प्रस्तुत गरिएको थियो ।

अर्का उम्मेदवार भीष्म आङ्देम्बेको प्रचार–प्रसारमा साकेला नृत्य, नैनसिंह महरको प्रचार–प्रसारमा देउडागीत प्रस्तुत गरिएको थियो । केन्द्रीय सदस्यदेखि सभापतिसम्मको उम्मेदवारी मनोनयन गर्न आउनेलाई सांस्कृतिक झाँकीले स्वागत गरेका थिए ।
कार्यकर्ताको नाराबाजीसहित झाँकी प्रदर्शनीले पद्मोदय मोडदेखि पुरानो बसपार्कसम्मको सडक ठप्पप्रायः देखिन्थे । खुलामञ्चमा व्यवस्थापन हुन नसकेका सवारीसाधन पुतलीसडक र भद्रकाली–माइतीघर भित्री सडकमा पार्किङ व्यवस्था मिलाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?