logo
२०८१ बैशाख १३ बिहीवार



धमाधम सम्पर्क कार्यालय स्थापना

मुख्य समाचार |


धमाधम सम्पर्क कार्यालय स्थापना


देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर २३ गते । नेपाली काँग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा केन्द्रीय पदाधिकारी तथा सदस्य पदका आकाङ्क्षीहरूले काठमाडौँमा सम्पर्क कार्यालय खोल्न थालेका छन् ।

यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । सभापतिदेखि केन्द्रीय सदस्य पदका आकाङ्क्षीहरूले महाधिवेशन प्रतिनिधिसँगको भेटघाटका लागि उपयुक्त हुने स्थानमा कार्यालय खोलेका हुन् । उपसभापति विमलेन्द्र निधिले पाँच महिनाअघि नै थापागाउँमा सम्पर्क कार्यालय खोल्नुभएको छ । सभापतिका उम्मेदवार निधिले कार्यकर्ता तथा शुभचिन्तकसँगको भेटघाटलाई सहज बनाउन सम्पर्क कार्यालय खोलिएको बताउनुभयो ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले बालाजु बोहोराटारस्थित निजी निवास र महामन्त्री डा. शशाङ्क कोइरालाले महाराजगन्जस्थित निवासलाई सम्पर्क कार्यालयको रूपमा प्रयोग गर्दै आउनुभएको छ । सभापति उम्मेदवारका अर्का आकाङ्क्षी पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि मङ्गलबार रामशाहपथमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । उहाँले निर्वाचन तयारीदेखि महाधिवेशन प्रतिनिधि र कार्यकर्तासँगको भेटघाट सोही कार्यालयबाट हुने बताउनुभयो ।

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि विशालनगरमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । उहाँले सभापतिमा उम्मेदवारी तयारीका लागि कार्यकर्तासँगको भेटघाट र निर्वाचनसम्बन्धी रणनीति तयार पार्न सम्पर्क कार्यालय खोल्नुभएको बताउनुभयो ।

त्यस्तै महामन्त्रीका उम्मेदवार गगन थापाले ज्ञानेश्वरमा र सहमहामन्त्रीका उम्मेदवार भीमसेनदास प्रधानले बागबजारमा सम्पर्क कार्यालय राख्नुभएको छ । यता सहमहामन्त्रीका उम्मेदवार डा. डिला सङ्ग्रौलाले नेता प्रकाशमान सिंहको कार्यालयसँगै सम्पर्क कार्यालय खोल्नुभएको छ । युवा नेता उदयशमशेर राणाले पुतलीसडक क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरी मङ्गलबारदेखि केन्द्रीय सदस्य उम्मेदवारीमा प्रचारप्रसार सुरु गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?