logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेसका शीर्ष नेता उम्मेदवार तय गर्न व्यस्त

मुख्य समाचार |


काँग्रेसका शीर्ष नेता उम्मेदवार तय गर्न व्यस्त



गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २२ गते । नेपाली काँग्रेसका शीष नेताहरू पार्टीको १४औँ महाधिवेशनका लागि उम्मेदवार तय गर्न समूहगत छलफलमा व्यस्त हुनुभएको छ । महाधिवेशनमा उम्मेदवारी दर्ताको समय नजिकिएपछि काँग्रेसका शीर्ष नेताले छलफललाई तीव्र पार्नुभएको हो ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट पदाधिकारी एवं केन्द्रीय नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार छलफल गर्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू भने राजधानीको चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफलमा जुट्नुभएको थियो ।

सभापति देउवाले पार्टीको महाधिवेशनका लागि उम्मेदवार तय गर्नका लागि नेताहरूसँग सल्लाह लिनुभएको जानकारी सहमहामन्त्री डा. प्रकाशशरण महतले दिनुुभयो । उहाँका अनुसार सभापति देउवाले महाधिवेशनमा उम्मेदवार तय गर्ने विषयमा नेताहरूबाट धारणा लिनुभएको छ । डा. महतले भन्नुभयो, “महाधिवेशन तयारीका विषयमा छलफल भयो । उम्मेदवार तय गर्ने विषयमा पनि कुराकानी भयो । उम्मेदवारको विषय पनि चाँडै टुङ्गो लाग्छ । बिहीबारसम्ममा उम्मेदवारहरूको विषय पनि निष्कर्षमा पु-याउने गरी मङ्गलबार छलफल भएको छ ।”

नेपाली काँग्रेस संस्थापन पक्ष एकमत भएर जाने प्रस्ट छ । सभापति पदमा देउवाले पुनः उम्मेदवारी दिने बताइसक्नुुभएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि भने छलफल जारी छ । प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारीका उम्मेदवारहरूको नाम सहमतिमै तय गर्ने गरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा धेरै योग्य र अनुभवी नेताहरू हुनुहुन्छ । कसरी सबैलाई व्यवस्थापन गरेर अगाडि बढ्ने भन्ने विषयमा सभापतिज्यूले छलफल गर्नुभएको हो ।”
प्रवक्ता शर्माका अनुसार छलफलमा प्रधानमन्त्री देउवासँगै नेता गोपालमान श्रेष्ठ, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका प्रभावशाली नेताहरू सहभागी हुनुहुन्थ्यो ।

साझा उम्मेदवारको गृहकार्य
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवार उठाउने बताउनुभएको छ । पौडेलले आफ्नो समूहबाट एक जनाको मात्रै उम्मेदवारी हुनेछ भन्नुुभयो ।
वरिष्ठ नेता पौडेलले गोरखापत्रसँग भन्नुभयो, “सभापति पदमा नेताहरूले दाबी प्रस्तुत गर्नुभएको थियो । मङ्गलबार पाँच घण्टा छलफल भयो । हाम्रो तर्फबाट सभापति पदमा साझा उम्मेदवार बनाउन सबै नेता सहमत हुनुभएको छ । सहमतिको नजिक–नजिक पुगेका छौँ । बुधबार पुनः छलफल गरेर सभापति पदको उम्मेदवार घोषणा गर्छौं ।”

वरिष्ठ नेता पौडेल समूहमा सभापति पदमा चार जना नेताले दाबी प्रस्तुत गर्नुभएको छ । पौडेलसँगै महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दाबी प्रस्तुत गर्नुभएको छ ।
पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा मङ्गलबार दिउँसोदेखि भएको छलफलमा वरिष्ठ नेता पौडेलले सहमति भएमा आफू त्याग गर्न तयार रहेको बताउनुभयो । छलफलमा सहभागी महामन्त्री कोइरालाले पनि सभापति पदमा ‘साझा उम्मेदवार’मा सहमति भए आफू त्याग गर्न तयार रहेको प्रस्ट पार्नुभयो । महामन्त्री कोइरालाले आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहेको बताउनुुभयो ।

छलफलमा सहभागी काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले गोरखापत्रसँग भन्नुभयो, “वरिष्ठ नेता र महामन्त्रीले दुई जनामध्ये एक जनाको नाममा सहमति भए आफूहरू त्याग गर्न तयार छौँ भन्नुभएको छ । वरिष्ठ नेताले सहमति नभएमा आफूलाई सहयोग गर्न आग्रह पनि गर्नुभएको छ ।”

नेपाल तरुण दलका पूर्वसहमहामन्त्री टेकराज पौडेलका अनुसार छलफलमा शीर्ष चार नेतासँगै केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, हृदयराम थानी, दीपक गिरीलगायत सहभागी हुनुहुन्थ्यो । छलफलमा जुट्नुभएका नेताहरूलाई सहमतिका लागि दबाब दिन युवा नेताले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?