logo
२०८१ बैशाख ७ शुक्रवार



चिसोसँगै आगलागीको जोखिम

खुला |


चिसोसँगै आगलागीको जोखिम


देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर २० गते । नयाँ बजार खुसिबु टाउन प्लानिङस्थित जनक हमालको आशिष गलैँचा गोदाममा शुक्रबार दिउँसो डेढ करोडको क्षति पुग्ने गरी आगलागी भयो । विद्युत् सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

अन्दाजी दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण लिन अग्नि नियन्त्रक तथा सुरक्षाकर्मीलाई सातवटा दमकलको सहयोगमा करिब पाँच घण्टा लाग्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कोठा तातो पार्न बालेको हिटरको लाइन सर्ट हुँदा आगलागी भएको हो ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गा दाहाल चिसो बढेसँगै घरकोठा तथा कार्यालय न्यानो पार्न ग्यास गिजर तथ हिटर बाल्दा विद्युत् सर्ट भएर आगलागीका घटना हुने गरेको बताउनुहुन्छ । गत साउनदेखि मङ्सिरसम्म उपत्यकामा मात्र १११ वटा आगलागीका घटना भएका छन् । यी घटना हुनुमा मानवीय कमजोरी प्रमुख कारण देखिएको काठमाडौँ महानगरपालिका जुद्ध वारुण यन्त्र कार्यालयले जनाएको छ ।

कालीकोट निवासी हमालको उक्त गलैँचा गोदाममा पनि मानवीय कमजोरीका कारण आगलागी भएको हुनसक्ने दाबी अग्नि नियन्त्रकको छ । चिसो बढेसँगै न्यानो पार्ने नाममा आगो तथा कोइला, हिटर तथा गिजर बाल्ने गर्दा आगलागीका घटना बढ्न थालेका हुन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रत्येक दिन १३ वटासम्म आगलागीका घटना हुन थालेका छन् । धेरैजसो आगलागी दाउरा तथा कोइला बाल्दा, विद्युत् सर्ट तथा खाना पकाउने ग्यास चुहावट भएर हुन्छ ।

आगलागी बढ्नुमा मानवीय कमजोरी तथा हेलचेक्र्याइँ प्रमुख कारण हो, प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई भन्नुहुन्छ, “आगलागी नियन्त्रणका लागि जनचेतनाको अभाव देखिन्छ । मानवीय कारण सिर्जित यो विपत्बाट सामान्य सतर्कता अपनाउन सके जोगिन्छ । ”
सरकारले आगलागीलाई जोखिमपूर्ण विपत्मा राखे पनि यसबाट जोगिन तथा सुरक्षित रहन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकेको छैन । प्राधिकरणका अनुसार यो वर्ष वैशाख १ देखि मङ्सिर १६ गतेसम्म एक हजार १२४ वटा आगलागीका घटना भएका छन् । ती घटनामा परी ३२ जनाले ज्यान गुमाएका छन् भने १७९ जना घाइते छन् ।

त्यस्तै एक हजार ३२४ घरपरिवार विस्थापित भएका छन् । घरआवास, गोठ, खाद्यान्न तथा वस्तुभाउलगायत गरी एक अर्ब ११ करोड ६८ लाख ५५ हजार मूल्य बराबरको क्षति भएको विपत् प्राधिकरणको बुलेटिनमाउल्लेख छ ।
जुद्ध वारुण यन्त्रका प्रमुख चन्दन श्रेष्ठ काठमाडौँ उपत्यकामा हुने अधिकांश आगलागीका घटनामा विद्युत् सर्ट, गिजर, हिटर तथा ग्यास चुहावट प्रमुख कारण हुने गरेको बताउनुहुन्छ । उपत्यकामा आर्थिक वर्ष २०७७÷७८ मा ३०५ वटा आगलागीका घटना
भएका थिए ।

ती घटनामा पनि मानवीय कमजोरी मुख्य कारण हुन् । बत्ती तथा ग्यास प्रयोग गर्दा ध्यान नदिने, लगातार जलाइराख्ने, कोइला तथा ब्रिकेट बालेर मस्तले सुत्ने, ग्यास गिजर तथा हिटर बन्द नगर्ने, कोठा तातो पार्न झ्याल ढोका थुनेर सुत्नेजस्ता लापरबाही हुने गरेका छन् ।

‘सहरी क्षेत्रमा ग्यास, बिजुली र ग्रामीण क्षेत्रमा दाउराको आगो’ आगलागीका मुख्य स्रोत हुन् । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवर चिसोका लागि तातो, तातोका लागि आगो बाल्दा दुर्घटना हुने गरेको बताउनुहुन्छ । घरकोठा तातो पार्न ग्यास गिजर, हिटर, दाउरा, कोइला तथा ब्रिकेट बालेर नसुत्न उहाँको सुझाव छ । यदि बाले पनि झ्यालढोका हल्का खुला राख्न र अग्निजन्य वस्तु बाल्दासम्म नसुत्न उहाँले आग्रह गर्नुभयो ।

प्रत्येक वर्ष कोठा न्यानो पार्ने नाममा आगो तथा धुवाँ र तापका कारण अक्सिजनको अभाव निसास्सिएर अकालमै ज्यान गुमाउने गरेका घटना दोहोरिने गरेका छन् । ग्रामीण क्षेत्रमा हुने आगलागी तथा डढेलोका घटनामा बालबालिकाको संलग्नता बढी देखिएको छ ।
सहरी क्षेत्रमा शिक्षित र वयस्क व्यक्तिकै लापरबाही तथा हेलचेक्र्याइँले आगलागीसँगै मानवीय क्षति हुने गरेको छ । सरकारले पनि अग्निपीडितहरूलाई राहत उपलब्ध गराउन थालेको छ । घर तथा आवास पूर्ण रूपमा क्षति भएमा पहाडी जिल्लामा पाँच लाख र तराईमा तीन लाख, मृत्यु भएमा पीडित परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ राहत उपलब्ध गराउँदै आएको छ । स्थानीय र प्रदेश सरकारले पनि २५ हजारदेखि एक लाख रुपियाँसम्म राहत उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?