logo
२०८० चैत्र १५ बिहीवार



सरकार र समुदाय सचेत भए ओमिक्रोनबाट सुरक्षा

स्वास्थ्य |
मुख्य समाचार |


सरकार र समुदाय सचेत भए ओमिक्रोनबाट सुरक्षा


सरोज ढुङ्गेल

काठमाडौँ, मङ्सिर १९ गते । विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरे पनि भारततर्फ सहजै आउजाउ हुँदा नयाँ भाइरस नेपाल प्रवेश गर्न सक्नेप्रति स्वास्थ्यविज्ञ चिन्तित छन् ।

भारतमा ओमिक्रोन भाइरस देखिएकाले नेपालमा देखापर्ने निश्चित भएको दाबी गर्दै वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भन्नुभयो, “ओमिक्रोन प्रवेश हुन नदिन उपाय अवलम्बन गर्नुपर्छ । सङ्क्रमण अत्यधिक भएर बन्दाबन्दीको अवस्था आउँदा समस्या पर्छ ।” उहाँले केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिँदै गएको भन्दै ओमिक्रोन भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न सरकार र समुदायस्तरबाटै पहल गरिनुपर्ने सुझाव दिनुभयो । विशेषज्ञ डा. सुवेदीले दक्षिण अफ्रिकामा खोप नलगाएका व्यक्ति ओमिक्रोनबाट बढी सङ्क्रमित भएकाले नेपालमा पनि सबैले खोप लगाउनैपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ओमिक्रोन फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप सतर्कता अपनाउन सुरु गरिएको जानकारी दिनुभयो । “भारतमा भाइरस देखिएपछि खुला नाका भएकोले नेपालमा देखिन सक्ने सम्भावना भएरै सीमामा कोरोना परीक्षण गर्ने कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “कोरोना परीक्षण कार्यलाई निरन्तरता दिनुका साथै पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको छ ।”

ओमिक्रोन भाइरस डेल्टाको तुलनामा पाँच गुणा बढी खतरनाक छ । हालसम्म ओमिक्रोन देखिएको दुई हप्ता नपुग्दै फैलिने क्रम ह्वात्तै बढेको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भाइरस मङ्सिर १७ गतेसम्म ३५ देशमा फैलिसकेको छ । ओमिक्रोन भेरियन्ट हालसम्म दक्षिण अफ्रिका, बोत्स्वाना, भारत, नेदरल्यान्ड, हङ्कङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटली, चेक गणराज्य, डेनमार्क, अस्ट्रिया, क्यानाडा, स्विडेन, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, जापान, घाना, दक्षिण कोरिया, नाइजेरिया, ब्राजिल, नर्वे, साउदी अरब, आयरल्यान्ड, अरब इमिरेट्स, ग्रिस, अमेरिका, सिङ्गापुर, मलेसिया, फ्रान्स, श्रीलङ्का, मेक्सिकोलगायतका देशमा फैलिसकेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अन्य प्रजातिभन्दा ओमिक्रोन बढी सङ्क्रामक रहेकोले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । एक सय दिनमा डेल्टाको जति सङ्क्रमित भेटिएका थिए, ओमिक्रोनका सङ्क्रमित १५ दिनैमै फेला परिसकेका छन् । ओमिक्रोन भाइरसका बारेमा अझै पनि अनुसन्धान हुन बाँकी रहेकाले यसबाट हुने क्षति अझै आकलन गर्न सकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?