logo
२०८१ बैशाख ७ शुक्रवार

   प्रादेशिक अधिवेशनका लागि आज मतदान   



नेताहरूबीच तीव्र प्रतिस्पर्धा

मुख्य समाचार |


नेताहरूबीच तीव्र प्रतिस्पर्धा


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो ।

प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ । मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

कतिपय प्रदेशमा सभापति पदमा दुईभन्दा बढीको उम्मेदवारी परेको छ । सभापति पदमा खसेको मतको ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गराइने छ । केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ मा उम्मेदवारी दर्ता शनिबार मात्रै हुने भएको छ । अरू ६ वटा प्रदेशमा शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।

विराटनगर समाचारदाता महेन्द्र विष्टका अनुसार प्रदेश १ सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रदेश निर्वाचन समितिका अनुसार दुई उपसभापति पदका लागि गोविन्द ढुङ्गाना, टङ्क राई, विश्वनाथ रिजाल र रमेशजङ्ग रायमाझीले उम्मेदवारी दिनुभएको छ ।

दुई महामन्त्रीका लागि दीपेन श्रेष्ठ, उमेश थापा, पद्मसुन्दर पालुङ्वा र भूपेन्द्र राईले उम्मेदवारी दर्ता गर्नुभएको छ । तीन सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की र वीरकाजी राईको उम्मेदवारी परेको छ ।

नेतृत्व चयनका लागि शनिबार विराटनगरमा मतदान हुँदैछ । यस प्रदेशमा एक हजार ७७० मतदाता छन् । निर्वाचन समिति संयोजक भरतबहादुर थापाका अनुसार प्रदेश १ मा पदाधिकारीसहित ८८ सदस्यीय प्रदेश कार्यसमितिका लागि मतदान हुँदैछ ।
प्रदेश २ मा अधिवेशन उद्घाटन भए पनि उम्मेदवारी दर्ता शनिबार मात्रै हुने भएको छ । निर्वाचन समितिका अनुसार केही जिल्लाका प्रतिनिधिहरूको सूचीमा विवाद भएपछि मनोनयन एक दिनपछि सरेको हो । प्रदेश दुईको सभापतिमा नेताहरू रञ्जीत कर्ण, रामसरोज यादव र कृष्ण यादवले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

गोरखापत्रका बागमती प्रदेश संयोजक राममणि दाहालका अनुसार काँग्रेस प्रदेश सभापतिमा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, जगदीश्वरनरसिंह केसी र इन्द्र बानियाँले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, परशुराम पोखरेल, मदनकृष्ण श्रेष्ठ, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीको उम्मेदवारी परेको छ । महामन्त्रीमा कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सहमहामन्त्रीमा महिलातर्फ जीवन डङ्गोल, निर्मला बस्ताकोटी र मोतीमाया तामाङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी सहमहामन्त्रीमा खुलातर्फ ऋषिराम घिमिरे, वीरबहादुर तामाङ, हरिशरण श्रेष्ठ, राजकुमार पाठक, महेन्द्र थिङ र जयनारायण सापकोटाले उम्मेदवारी दिनुभएको छ । सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले ९१ सदस्यीय प्रदेश कार्यसमितिका लागि सबै पदमा गरी २५० जना उम्मेदवारी परेको बताउनुभयो । शनिबार बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यस प्रदेशमा दुई हजार १३७ मतदाता छन् ।

गण्डकी प्रदेशको सभापति पदमा अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले एक हजार १६० मतदाताले ६८ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश निर्वाचन समिति सदस्य जीवनारायण अधिकारीका अनुसार काँग्रेस प्रदेश सभापति पदमा भरतकुमार शाह र अमरसिंह पुनमगरले उम्मेदवारी दिनुभएको छ । एक हजार ६४८ मतदाताले पदाधिकारीसहित ७७ सदस्यीय प्रदेश कार्यसमितिका लागि मतदान गर्ने छन् ।
त्यसैगरी कर्णाली प्रदेश काँग्रेसको नेतृत्व चयन गर्न शनिबार मतदान हुँदैछ । प्रदेश सभापतिका लागि नेताहरू भूपेन्द्रजङ शाही, ललितजङ शाही र मोतिराज बमले उम्मेदवारी दिनुभएको छ । कर्णाली प्रदेशका ७४९ मतदाताले पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम प्रदेशमा ९८७ मतदाताले पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?