logo
२०८१ बैशाख ६ बिहीवार

   काठमाडौँ–मस्र्याङ्दी प्रसारण लाइन   



सहमतिपछि निर्माण पुनः सुरू

अर्थ |


सहमतिपछि निर्माण पुनः सुरू


गोपालचन्द्र सुवेदी

काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँ–मस्र्याङ्दी प्रसारण लाइनको अवरुद्ध निर्माण कार्य पुनः थालिएको छ ।
धादिङ सिद्धलेक गाउँपालिका पीपलटारका स्थानीयवासीले पोल गाड्ने तथा तार तान्ने काम रोकेकामा अहिले सहमति जुटेपछि पोल गाड्ने काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ८२ किलोमिटर लामो प्रसारण लाइनको सबै काम सकिए पनि सिद्धिलेकको दुई किलोमिटर क्षेत्रमा दुईवटा टावर गाड्ने र तार टाँग्ने काम रोकिएको थियो ।

प्रसारण लाइनका टावरले ओगट्ने जग्गाको मुआब्जा, स्थानीय पूर्वाधार विकास र खानेपानी व्यवस्थापनको मागमा ऊर्जा मन्त्रालय, प्राधिकरण, गाउँपालिका तथा स्थानीयवासीबीच सहमति जुटेपछि पोल गाड्नका लागि खाडल खन्ने काम सुरु गरिएको प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले जानकारी दिनुभयो ।

सहमति जुटाउन पीपलटार क्षेत्रको सडक पूर्वाधार विकासका लागि नेपाल विद्युत् प्राधिकरणले एक करोड ५० लाख रुपियाँ गाउँपालिकालाई उपलब्ध गराउने भरएको छ । त्यस्तै मुआब्जा बढाउन सम्भव नभएकामा स्थानीयवासी सहमत भएका छन् ।
यसैगरी खानेपानी आयोजनाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने पनि निधो भएको छ । पोल गाड्ने तथा तार तान्ने क्रममा हुने बालीनालीको क्षतिपूर्ति पनि आयोजना पक्षले उपलब्ध गराउने सहमति भएपछि निर्माणको काम सुरु भएको हो । केही रुख कटानका सामान्य काम पनि बाँकी छन् । प्रधानले भन्नुभयो, “स्थानीयको सुझबुझ, ऊर्जा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय तथा जनप्रतिनिधिको लामो प्रयासले काम गर्न पाएका छौँ । अब तीव्र गतिमा काम गरेर तीन महिनाभित्र तयार गर्नेगरी काम गरिरहेका छौँ । ” प्रसारण लाइनको २३१ मध्ये २२९ वटा टावर निर्माण र तार टाँग्ने काम करिब दुई वर्ष पहिले सकिएको थियो ।

तनहँुको मार्कीचोकमा रहेको सबस्टेसनमा मस्याङ्दी नदी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ल्याउने र सो बिजुली काठमाडौँ उपत्यका ल्याउन २२० केभी डबल सर्किट तथा ट्विन कन्डक्टरयुक्त प्रसारण लाइन बनाउन थालिएको हो । १३२ केभी क्षमताको पुरानो प्रसारणलाई पर्याप्त नभएपछि यो आयोजना बनाउन थालिएको थियो । १३२ केभीको उक्त प्रसारण लाइनबाट उच्चतम १०० मेगावाटसम्म मात्र विद्युत् आपूर्ति गर्न सकिन्छ । २२० केभीमार्फत सहज ढङ्गले ५०० मेगावाट विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन तयार भए पनि अहिले नै २२० केभी क्षमतामा भने सञ्चालन नगरिने प्राधिकरणले जनाएको छ । मातातीर्थ सबस्टेसन र मार्की सबस्टेसनलाई २२० केभीमा स्तरोन्नति गर्ने काम सकिएको छैन । प्रधानका अनुसार अबको एक वर्षमा दुवै सबस्टेसनलाई २२० मा रूपान्तरण गर्ने काम सकिनेछ । त्यसअघि यो प्रसारण लाइनबाट ३०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने औँल्याइएको छ । यो प्रसारण लाइन नबन्दा मस्र्याङ्दी कोरिडोरका आयोजनाको बिजुली वर्षायाममा पूर्ण आपूर्ति गर्न सकिएको थिएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?