logo
२०७८ माघ १३ बिहीवार



धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप

ठूला आकारका थाम बनाउन महोत्तरीदेखि कञ्चनपुरसम्मका जङ्गलबाट काठ ल्याइएको छ ।

मुख्य समाचार |


धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप


प्रकृति अधिकारी

काठमाडौँ, मङ्सिर १७ गते । एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको हो ।
वि.सं. २०७२ वैशाखको भूकम्पले भत्काइदिएको काष्ठमण्डप पुनर्निर्माणमा देशका विभिन्न जङ्गलबाट ल्याइएका काठ प्रयोग गरिएको छ । त्यसैले गर्दा अब एउटै रुखको काठबाट बनेको भन्न नमिल्ने भएको हो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्षसमेत रहनुभएका बागमती प्रदेशका सांसद राजेश शाक्यले भन्नुभयो, “ठूला आकारका थाम चाहिने भएकाले महोत्तरीदेखि कञ्चनपुरसम्मका जङ्गलबाट काठ ल्याइएको छ ।” बीचमा रहेका चारवटा बडेमानका थाममध्ये एउटा पुरानो प्रयोगमा ल्याइएको छ भने बाँकी तीनवटा नयाँ बनाइएको छ । चार सय केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा महोत्तरी र रौतहटको जङ्गलमा कटान गरिएका रुख ल्याइएका थिए । त्यस्तै अमलेखगञ्जमा पेट्रोलियम पाइप लाइन विस्तारका क्रममा काटिएका रुख पनि ल्याइएका थिए । कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट पनि काठ ल्याइएको छ । सालका ती काठ नेपाल वन निगममार्फत खरिद गरिएको हो ।

“पहिलेका काठ मुस्किलले पाँच प्रतिशत मात्र प्रयोगमा आइसके,” उहाँले भन्नुभयो, “पुराना काठ पुरातìव विभागलाई हस्तान्तरण गर्ने छौँ ।” पुराना काठको नमुना परीक्षणका लागि बेलायत पठाइएको थियो । परीक्षणबाट काष्ठमण्डपमा प्रयोग गरिएका काठ एक हजार वर्ष पुराना रहेको प्रमाणित भएको थियो । परीक्षणबाट अन्य काठ सालकै भएको पत्ता लागे पनि मेथ (थामको शिरानमा प्रयोग हुने काठ)को प्रजाति पत्ता लाग्न सकेन ।

पुरातìव विभागका प्रवक्ता रामबहादुर कुँवरले एउटै काठबाट काष्ठमण्डप निर्माण भएको किंवदन्ती मात्र रहेको तर एउटै काठबाट निर्माण सम्भव नभएको तर्क गर्नुभयो । किंवदन्तीअनुसार काष्ठमण्डप निर्माण गर्दा बचेको काठ भेडासिङमा राखिएको र त्यसको टुप्पा असनसम्म थियो भनिन्छ । त्यही बचेको काठको फेदमा दाँत दुःखेकाहरूले किला ठोक्ने गरेका थिए र हाल त्यहाँ किला ठोक्न बन्द गरिएको छ ।

पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटा, तामालगायत सामग्री नयाँ प्रयोग गरिएको छ । काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको छ । चर्किएको मूर्ति प्रयोग गर्न नहुने मान्यताका कारण नयाँ मूर्ति निर्माण गरिएको हो र नयाँ मूर्ति पाटनका कलाकार नरेश महर्जनले निर्माण गर्नुभएको छ । पुरानो मूर्ति हनुमानढोका दरबार हेरचाह अड्डामा सुरक्षित राखिएको छ ।
काष्ठमण्डपभित्र रहेका दुईवटा काठका भ-याङमध्ये एउटा नयाँ निर्माण गरिएको छ भने अर्काे पुरानै प्रयोगमा ल्याइएको छ । धरहरा निर्माणका क्रममा खनेको, कालीमाटी र ताहाचलबाट माटो ल्याइएको छ । पुनर्निर्माणका क्रममा ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको छ । तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष शाक्यले काष्ठमण्डप पहिलो पटक २०७२ सालको भूकम्पमा ढलेको बताउँदै थप्नुभयो, “समय समयमा मर्मत सम्भार गरिएको भए भूकम्पमा ढल्ने थिएन । अब बनेको काष्ठमण्डप धेरै गुणा सबल छ । सातौँ शताब्दीको प्रविधि प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकाले अझ बलियो बनेको छ ।” उहाँले पुनर्निर्माण कार्यमा करिब साढे ११ करोड रुपियाँ खर्च भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college